दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ स्यानी गाउँका ५४ वर्षका यमबहादुर चौधरी र उहाँका श्रीमती शोभा चौधरीले गरेको सूर्यमुखी फूलको खेती गाउँ चिनाउने आधार बनेको छ ।
यो दम्पतीले ७ कठ्ठा जमिनमा गरेको सूर्यमुखी फूल खेती हेर्न आउनेहरू अहिले बढिरहेका छन् । दाङका एन्जिला पुरीले चौधरी दम्पतीको सूर्यमुखीको खेतीको चर्चा सुनेका कारण आफू स्यानी गाउँमा आएको बताउनुभयो ।
‘शान्त वातावरणमा फ्रेस हुन पनि पाइने अनि केही प्रेरणा पनि मिल्ने भएर यहाँ आएको हुँ ।’ उहाँले भन्नुभयो, ‘दुईचार फोटो खिचेर र टिकटक बनाएर फर्किँदै छु ।’
घोराही १० नारायनपुरबाट दक्षिणतर्फ लागेपछि पुगिने वडा नम्बर ८ को स्यानी गाउँ सूर्यमुखी फूलका कारण टाढैबाट चिनिन्छ ।
एकनासले फूलेका फूलको सौन्दर्य हेर्न, फोटो खिच्न र टिकटक बनाउन पुग्नेहरू पनि बढेका छन् ।
चौधरी दम्पतीले एक जनाबाट ५० रूपैयाँ शूल्क पनि तोकेको छ ।
फूलखेती हेर्न दैनिक झण्डै ५ सय मानिसहरू पुग्ने गरेका छन् । यसबाट फूलखेती गर्दै आउनुभएका यमबहादुर र शोभाले दैनिक १६ हजार रुपैयाँसम्म कमाउन थाल्नुभएको छ ।
धेरै मानिस आएर कुल्चिएपछि फूल सुकेर घाटा भएपछि पैसा लिन थालिएको उल्लेख गर्दै कुनै दिन १६ हजार त कुनै दिन १३ हजार कमाइ हुने गरेको यमबहादुरले जानकारी दिनुभयो ।
वुटवल, दाङ, बाँके लगायत जिल्लाका विभिन्न स्थानबाट मानिसहरू त्यहाँ आउने गरेका छन् ।
सूर्यमुखी फूल फुलेर पहेँलै भएपछि आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ भने गाउँको परिचय नै फेरिन थालेको छ ।
त्यहाँ पुगेका पर्यटकहरू फूलमय वातावरणमा रमाउने त छँदैछ, धेरै जना जानथालेपछि फूल टिप्ने र भाँचिने पनि हुन थालेपछि फूल संरक्षणको चुनौती भने थपिएको छ ।
तर फूलखेतीमा मानिसहरूको यति धेरै आकर्षण बढेपछि यो दम्पतीले यसलाइ थप व्यवस्थित बनाउने सोँच पनि बनाएको छ ।
‘सुरुमा यस्तो धेरै मानिस आउलान् भनेर हामीले सोचेका थिएनौँ । सुरुमा भए होला, नभए नहोला भनेर खेतीको सुरुवात गरिएको थियो ।’ शोभा चौधरीले भन्नुभयो ।
दैनिक ७ सम्म मानिस आउन थालेपछि तेलभन्दा पनि त्यहाँ आउनेबाट उठाएको पैसाबाट नै फाइदा भइसकेको उहाँको भनाइ छ ।
चौधरी दम्पतीले ७ महिना पहिले सूर्यमुखी फूल खेती सुरू गरेको थियो ।
यसमा जग्गा आफ्नै भए पनि दुई किलो बीउ, एकएक बोरा डीएपी र युरिया मललगायत गरी करिब ७ हजार खर्च भएको छ ।
७ कठ्ठामा लगाईएको यो फूलबाट लगभग साढे तीन क्विन्टल दाना उत्पादन हुने अपेक्षा गरिएको छ । यसरी तेलको लागि गरिएको फूल खेतीबाट गाउँ नै चिनिने मौका आउँदा यमबहादुर चौधरी र शोभा चौधरी खुसी हुनुभएको छ ।
नेपालमा सूर्यमुखी फूल खेतीको सम्भावना राम्रो भए पनि पर्याप्त खेती हुने गरेको छैन । जसका कारण वार्षिक करोडौँ मूल्यको सूर्यमुखी फूल आयात हुन्छ र तेल बनाइन्छ ।
तर केही स्थानमा भने यसको व्यावसायिक खेती पनि सुरू गरिएको छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ८ को स्यानी गाउँमा गरिएको सूर्यमुखी फूलको खेतीकै कारण गाउँ चर्चित बन्दै गएको छ, आन्तरिक पर्यटक पनि बढेका छन् ।
यसबारेको अडियो रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८, ०७:३८