गोल्डेन बुढा, रेडियो गुठीचौर
जुम्ला । म्याद गुज्रेको जुस खाँदा जुम्ला गुठिचौर गाउँपालिकाको एक निजी विद्यालयमा अध्ययनरत विद्यार्थी बिरामी परेका छन् ।
गुठीचौर–५ देपालगाउँस्थित हिमाली बोडिङ स्कुलका २५ जना विद्यार्थी बिरामी भएका हुन् । म्याद नाघेको ट्याङ जुस जाँदा विद्यार्थीहरू बिरामी पर्न थालेको स्कुलका प्रिन्सिपल मन्जील गिरीले बताउनुभयो ।
व्यापारीले म्याद नाघेका बस्तु विक्री गरेका कारण विद्यार्थी बिरामी भएको उहाँको भना छ ।
उहाँले भन्नुभयो,“गर्मी बढेपछि विद्यार्थीले पानीसँग ट्याङ जुस मिलाएर खाएका रहेका छन् । एकाएक पेट दुख्ने, टाउको दुख्ने गरेको भन्दै विद्यार्थी रुन थालेपछि नजिककै अस्थायी कोभिड अस्पताल लिएर उपचार गरिएको छ । अहिले विद्यार्थीको अवस्थामा सामान्य रहेको छ ।”
विद्यार्थी बिरामी पर्नुले म्याद गुज्रेको जुससँगै पानीमा पनि केही समस्या हो कि भन्ने आशङ्का भएपछि पानी परीक्षण गर्न भनिएको प्रिन्सिपल गिरीले जानकारी दिनुभयो । विद्यालय आउँदो आइतबारसम्मका लागि बन्द गरिएको छ ।
अभिभावकसँग छलफलपछि मात्रै विद्यालय खोल्ने तयारी छ ।
जुम्लाकै कर्णाली बोर्डिङ स्कुलका प्रिन्सिपल रतन बहादुर शाहीले पनि आफ्नो विद्यालयमा विगत एक सातादेखि दैनिक २/३ जना विद्यार्थीहरूमा पेट दुख्ने, टाउको दुख्ने समस्या आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सबै बालबालिकालाई स्कुलकै क्यान्टिनबाट खाजा खुवाउने गरिएकाले बजारको अखाद्य वस्तु खाने अवस्था छैन । तर किन विद्यार्थी बिरामी भइरहेका छन् भन्ने पत्तो लगाउन सकिएको छैन । विद्यार्थी दैनिक बिरामी भइरहेका छन् ।”
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८, १४:३४