काठमाडौँ । नेपालमा वार्षिक हुने करिब १२ लाख गर्भाधारणमध्ये झण्डै आधाले इच्छाविपरित गर्भाधारण गर्ने एक अध्ययन प्रतिवेदनले निष्कर्ष निकालेको छ ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले सार्वजनिक गरेको ‘स्टेट अफ वर्ल्ड पपुलेशन २०२२’ प्रतिवेदनमा गर्भधारण गरेका त्यसमध्ये करीब तीन लाख ५९ हजारले गर्भपतन गराउने उल्लेख छ ।
‘सुरक्षित गर्भपतन सेवाका लागि अझै पनि धेरै महिला तथा किशोरीहरूले संरचनात्मक तथा अनौपचारिक बाधाको सामना गर्नु परिरहेको औँल्याउँदै प्रतिवेदनमा करिब ४४ प्रतिशत प्रजनन उमेरका महिलाहरूले परिवार नियोजनका आधुनिक विधि प्रयोग नगरेको पाइएको उल्लेख छ ।
'नेपालमा अझै पनि झण्डै ४१ प्रतिशत किशोरीको विवाह १८ वर्षभन्दा पहिले भएकाले किशोरावस्थामा गर्भाधारण गरेका किशोरीहरूमध्ये आधाको गर्भाधारण अनिच्छित छ।' यूएनएफपीएको प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनका अनुसार, विवाहित किशोरीहरूमा परिवार नियोजनका सामग्री प्रयोग गर्नेको सङ्ख्या २३ प्रतिशत मात्रै हुनु नै अनिच्छित गर्भधारणको कारण हो। जबकि, राष्ट्रिय औसतमा हेर्दा परिवार नियोजनका सामग्री प्रयोग गर्ने महिलाहरूको सङ्ख्या ४३ प्रतिशत छ । परिवार नियोजनका साधन प्रयोगकर्ता महिलाहरूमध्ये पनि १२ महीनाभित्र आधाले प्रयोग गर्न छोड्ने गरेको प्रतिवेदनमा समेटिएको छ।
महिला तथा किशोरीहरूलाई यौन, परिवार नियोजनका सामग्री र मातृत्वका सम्बन्धमा साहसिक निर्णय लिन सक्ने बनाउन नीतिनिर्माता र समुदायका सम्पूर्ण व्यक्तिहरूलाई यूएनएफपीएले अपील पनि गरेको छ ।
स्टेट अफ वर्ल्ड पपुलेशन रिपोर्ट यूएनएफपीएले वार्षिक रूपमा प्रकाशन गर्ने प्रमुख प्रतिवेदन हो। सन् १९७८ देखि हरेक वर्ष प्रकाशन हुँदै आएको रिपोर्टले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको क्षेत्रका मुद्दाहरूमा पैरवी गर्छ।
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८, १६:३३