गजल
फर्केर आफूलाई नहेरेको, धेरै दिन भैसक्यो।
मन निचोरेर गजल नलेखेको,धेरै दिन भैसक्यो।
अचेल त बाटो हिँड्दा पनि म,निर्धक्क हिड्ने गर्छु।
रहरको हुरीबतास नझेलेको, धेरै दिन भैसक्यो।
उस्तै विज्ञापन बोकेर झुल्किनु भएको छ उहाँ।
सायद अर्को आवरण नफेरेको, धेरै दिन भैसक्यो।
अनौठो मूर्दा शान्ति पो व्याप्त देखिन्छ हिजोआज।
मान्छेलाई सडकमा नभेटेको, धेरै दिन भैसक्यो।
सपना बनेर एकचोटी सुटुक्क गै दिउँ लाग्छ।
घरआँगनमा पाइला नटेकेको, धेरै दिन भैसक्यो।
@ खगेन्द्र गिरि "कोपिला"। नेपालगञ्ज
प्रकाशित मिति: शनिबार, चैत १९, २०७८, ०८:२८