काठमाडौँ । तीन दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कदै हुनुहुन्छ । साँझ ६ बजेपछि उहाँ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल अस्ति नयाँदिल्ली गएको थियो ।
स्वदेश फर्कनुअघि देउवा उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाने कार्यक्रम छ । देउवालाई त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुहुनेछ ।
देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नुहुनेछ ।
भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजाने-ल्याउने व्यवस्था मिलाएको छ ।
हिजो नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीको उपस्थितिमा हस्ताक्षर गरिएको थियो ।
सम्झौतापछि नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको थियो ।
त्यसक्रममा देउवाले द्विपक्षीय संयन्त्रमार्फत विद्यमान सीमा समस्या समाधानको लागि मोदीसमक्ष प्रस्ताव पनि गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत २०, २०७८, ०९:१९