काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभरी मनाईदैछ । प्रत्येक वर्ष मे १ तारिखका दिन अन्तराष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । नेपालमा पनि दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तक्र्रिया, चेतनामूलक कार्यक्रमको आयोजना हुने गर्दछ । सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो ।नेपालमा विराटनगरमा वि सं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । त्यस्तै वि सं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसले श्रमिक हकअधिकारको रक्षार्थ विश्वभरीका श्रमजीविलाई एकताको सुत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर श्रृजना गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गनुभएको हो । आजको दिन हरेक वर्ष संसारभरका मजदूरहरुले विशेष उत्सव मनाउने गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले मे १ तारिकालाई गौरवमय दिनको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले सन्देशमा यस विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीवहिनी एवं दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
श्रमक दिवसकै अबसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि मजदुर दिवसको शुभकामना व्यक्त गर्दै श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न नेकपा र नेकपाले नेतृत्व गरेको वर्तमान सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । विश्व मजदुर दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले श्रमिकको हक सुनिश्चित गरेर समाजवादको आधार तयार पार्न सरकारले जोड गरिरहेको उल्लेख गर्नुभयो ।
यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गर्नुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले आज शुभकामना सन्देश मार्फत श्रमिक वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६, ०८:३१