काठमाडौँ । जुम्लामा रहेको कर्णाली प्राविधिक शिक्षालयका भवनहरू जीर्ण अवस्थामा पुगेको र यसले शैक्षिक गुणस्तरमा समेत असर पर्ने भएकाले भौतिक संरचना मर्मत सम्भारका लागि शिक्षालयले बजेट माग गरेको छ ।
२०३७ सालमा स्थापना भएको प्राविधिक शिक्षालयका भवनहरू पुराना बनेका छन्, वर्षैपिच्छे अति न्यून मात्रामा बजेट जाने भएकाले पुनर्निर्माणमा बजेट अपुग हुने गरेको शिक्षालयका प्रमुख टेकेन्द्र थापाले सीआईएनसँग बताउनुभयो ।
शिक्षालयमा हाल विभिन्न तहमा गरी ८ सय ३२ जना विद्यार्थी अध्ययनरत छन् ।
टाढाटाढाका २ सय ५० जना विद्यार्थी शिक्षालयमा नै बसेर पढिरहेका छन् भने बाँकी शिक्षालय बाहिर बसिरहेका छन् ।
६ सय ५२ रोपनी जग्गामा फैलिएको प्राविधिक शिक्षालयका ५८ ओटा भवन छन् । ती भवनका छत, भित्ता, शौचालयदेखि अन्य भौतिक संरचना पनि निर्माण गर्नुपर्ने भए पनि बजेट अभाव रहेकाले समस्या भएको प्रमुख थापाले बताउनुभयो ।
भौतिक संरचना पुरानो भएकाले भूकम्प वा अन्य कुनै प्राकृतिक विपति आएको खण्डमा भत्किन सक्नेतर्फ सचेत गराउदै शिक्षालयले यसको मर्मत र व्यवस्थापनको लागि सरकारसँग बजेट माग गरेको छ ।
सीआईएनसँग कुरा गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले भने शिक्षालयको स्तरोन्नतिको लागि काम भइरहेको दाबी गर्नुभयो ।
उहाँले शिक्षालयका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा छलफल सुरु गरेको भन्दै चाँडै मर्मत सम्भारको काम सुरु गर्नेगरी निर्देशन दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जुम्लाको प्राविधिक शिक्षालय मात्र नभइ देशभरका प्राविधिक शिक्षालयको मर्मत सम्भार र व्यवस्थापनको लागि काम गरिरहेको मन्त्री पौडेलको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८, ०८:१२