काठमाडौं । खाद्यका लागि कृषि अभियानले आसन्न स्थानीय निर्वाचनमा सवै राजनीतिक दल र उम्मेद्वारहरूले आफ्नो घोषणा पत्रमा खाना र खेतीपातीका मुद्दा समेट्न आग्रह गरेको छ ।
खाद्यका लागि कृषि अभियानले लामो समयदेखि महिला, साना र भूमिहीन किसानका खाद्य, भूमि, कृषि र जलवायु जोखिम जस्ता सवालहरूमा निरन्तर अनुसन्धान, नीतिगत वहस र जन वकालत गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा अभियानका संयोजक उद्धव अधिकारीले खेतीपातीको मुद्दालाई पहिलो प्राथमिकता दिन आग्रह गर्नुभयो ।
कृषिविज्ञ डा. कृष्ण प्रसाद पौडेलले नेपालको खाना र कृषिको सवालमा स्थानीय सरकारको भूमिका ठूलो हुने भएकाले अब नेपालको खेतीपाती कसैले जोगाउँछ भने त्यो स्थानीय तहले जोगाउन सक्ने बताउनुभयो ।
खाद्यका लागि कृषि अभियानले स्थानीय निर्वाचनको घोषणापत्रमा नेपालको खाना, खेतीपातीको निम्न सवालहरु समेट्न ध्यानाकर्षण गराएको छः
- खाना खेतीपातीका मौलिक हक कार्यान्वयन नियमावली, कार्य विधि, तत् अनुसारका कृषि नीति, रणनीति र कृषि ऐन निमार्ण लगायत यससँग सरोकारका भूमि, वन र अन्य विषयगत नीतिको परिमार्जन र प्रभावकारी कार्यन्वयनको ढाँचा ।
किसान पहिचान,बर्गीकरण, परिचयपत्र वितरण र यसैका आधारमा सेवा तथा तथा सुविधा दिने व्यवस्थाका साथै सीमान्तकृत किसान, कृषि श्रमिक र महिला किसानलाई विशेष प्रोत्साहनको व्यवस्था ।
खेतीयोग्य जमिनको वितरण र स्वामित्व, भूउपयोग ऐन कार्यान्वयन, बाँझो खेतीयोग्य जमिनको सदुपयोग र खेती गर्न चाहाने किसानलाई खेतीयोग्य जमिन सहज रुपमा उपलब्ध गराउने कार्यक्रम ।
रसायन र विषादीमा आधारित खेती प्रणालीलाई न्युनीकरण गर्दै पर्यावरणमैत्री खेतीपातीको अभ्यासमा रुपान्तरण गर्ने योजना तथा कार्यक्रम ।
जैविक मल, रोगकिरा नियन्त्रण, रैथाने बीउ, व्याडको संरक्षण, नस्ल सुधारको स्थानीय स्तरमा गरिने अनुसन्धान तथा खोजको कार्ययोजना ।
रैथाने ज्ञान र सिपको संवद्र्धन, परिमार्जन गर्दै रैथाने उतपादनलाई प्रोत्साहन गर्ने व्यवस्था ।
किसानलाई दिने विमा, अनुदान, सहुलियत ऋणलाई व्यवस्थित गरेर वास्तविक किसानसम्म पुर्याउने रणनीति र कार्यविधि ।
स्वस्थ खाने कुराको उत्पादन, प्रबद्र्धन र बजारको नियमन गर्ने तथा आयातलाई प्रतिस्थापन गर्दै क्वारेनटाईनको प्रभावकारी कार्यन्वयन गर्ने व्यवस्था ।
प्राविधिक सुचना, सेवा तथा सुबिधालाई किसानको सहज पहुँच बढाउन कृषि प्रशारको कार्यक्रम र दक्ष जनशक्तिको समुदाय तहमै व्यवस्था ।
स्थानीय कृषि, खाना र शिक्षालाई एकिकृत गरेर मौलिक पाठ्यक्रम निमार्ण गर्ने र कार्यन्वयन गर्ने प्रतिबद्धता ।
खानाका लागि खेतीपातीको चेतना विस्तार गर्ने तथा खेती र किसानीलाई सम्मानित पेशा बनाउदै युवालाई कृषि क्षेत्रमा आकर्षण गर्ने कार्ययोजना ।
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८, १५:३०