ओखलढुङ्गा । ओखलढुङ्गाको तीनछाँगे झरनाको प्रवर्धन गर्न उत्कृष्ट लेख रचना तयार गर्ने र टिकटक बनाउनेलाई नगद पुरस्कार दिइने भएको छ ।
सुनकोशी ९ को समृद्धि र विकासका लागि ओखलढुङ्गा जिल्लाको चर्चित एवम् रमणीय तीनछाँगे झरनामा पर्यटन प्रवर्धन गर्न तीनछाँगेको विषयमा लेख, रचना, गीत,कविता तथा सामाजिक सञ्जालमार्फत फोटो, भिडियो र टिकटक बनाउने उत्कृष्ट ३ जनालाई नगदसहित पुरस्कृत गरिने भएको हो ।
तयार पारिएको सामाग्री र त्यसको प्रभावका आधारमा पुरस्कार दिइने सुनकोशी गाउँपालिका वडा नम्बर ९ का वडाअध्यक्ष झनककुमार कार्कीले बताउनुभयो ।
तीनछाँगेको इतिहास, वर्तमान अवस्था र मनोरम वातावरणमा रम्नुका फाइदाका विषयमा प्रचारसामग्रीसमेत तयार पार्न सकिने उहाँको भनाइ छ ।
नयाँवर्ष २०७९ को पहिलो दिन बैशाख १ गते वडा कार्यालयको सहयोगमा तीनछाँगे झरना प्रवर्धन समितिले तीनछाँगेको प्रचारप्रसारका लागि वृहत साङ्गीतिक कार्यक्रमसहितको तयारी गरेको प्रवद्र्धन समितिका अध्यक्ष नरबहादुर सुनुवारले बताउनुभयो ।
कार्यक्रममा स्थानीयको जातिय पहिचान झल्काउने झाँकी, ककनीको अर्गानिक स्वादसहित स्वादिष्ट परिकारहरू, राष्ट्रिय फूल लाली गुराँस र तीनछाँगे झरनासँग रमाउन सकिने आयोजकले जनाएको छ ।
स्थानीय तहमा निर्वाचित भएपछि जनप्रतिनिधिले यस क्षेत्रको पर्यटन प्रवर्धनको अभियान चलाएका छन् ।
पुरानो किंवदन्ती बोकेको धार्मीक तथा प्राकृतिक रमणीयस्थल तीनछाँगे विगतमा ओझेलमा थियो । त्यहाँसम्म पुग्ने बाटो समेत थिएन ।
अहिले जनप्रतिनिधिकै पहलमा तीनछाँगेसम्म पुग्ने सहज बाटो र झरना अवलोकनका लागि पदमार्ग, काठे पुललगायतका पूर्वाधार निर्माण गरिएको छ ।
पूर्वाधार विकास र प्रचारप्रसार गरिएसँगै तीनछाँगेमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८, १६:२२