काभ्रे । काभ्रेको तेमाल गाउँपालिकाले १ सय जना एकल पुरुषलाई आज मासिक २ हजारका दरले भत्ता वितरण गरेको छ ।
गाउँपालिकाको वडा नम्बर १ देखि ९ सम्मका एकल पुरुषले ९ महिना बराबरको भत्ता रकम पाएका हुन् ।
उनीहरुलाई एकमुस्ट १८ हजारका दरले रकम दिइएको छ ।
६० वर्ष पूरा भएको र ७० वर्ष ननाघेका एकल पुरुषका लागि भत्ता वितरण गरिएको हो ।
गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति,कार्यक्रम र बजेट अनुसार रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले सङ्घीय सरकारले दलित बालबालिका, अपाङ्गता भएका व्यक्ति, एकल महिलालाई भत्ता दिँदै आएको सन्दर्भमा तेमालका विधुर एवं एकल पुरुषहरुलाई पनि सहायता आवश्यक रहेको हुदाँ यस खालको सामाजिक सुरक्षा भत्ता दिइएको बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८, २१:३६