काठमाडौँ । निर्वाचन आयोगले गठबन्धन गरी चुनावमा जाने दलहरुलाई सजिलो तर महिला सहभागितामा अफ्ठेरो हुने गरी आफ्नै निर्णयलाई सच्याएको छ ।
यही चैत २२ मा राजनीतिक दलहरुलाई निर्देशनात्मक रुपमा गरिएको अपिलमा पालिकाको अध्यक्ष वा उपाध्यक्ष मध्ये एक पदमा उम्मेद्वारी दिँदा महिला उम्मेदवार हुनुपर्ने प्रावधान राखिएको थियो ।
तर उक्त प्रावधान राख्ने निर्णय एक हप्तापछि हिजो मङ्गलवार आयोगले सच्याएको छ ।
स्रोतका अनुसार दलहरुको असन्तुष्टिका कारण पूर्ववत निर्णयमा के गर्ने भन्ने बारेमा आयोगमा छलफल भएको थियो ।
आयोगले दलहरुलाई पठाएको निर्देशन पत्रको बुँदा नम्बर ६ मा ‘स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने।’ भनिएको थियो ।
महिला अधिकारकर्मीहरुले भने आयोगले आफ्नै निर्णय सच्याउँदा चुनावमा महिला सहभागिता झन् कम्जोर हुने भन्दै यससम्बन्धीको पछिल्लो निर्णय फिर्ता लिन आयोगसँग अनुरोध गरेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८, ०७:२७