काठमाडौँ । भारतको महाराष्ट्रमा माओवादी आक्रमणमा परी १६ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा १५ सुरक्षाकर्मी र एकजना चालक रहेका छन् ।
महाराष्ट्र राज्यको गढचिरौली जिल्लामा माओवादीहरुले सुरक्षाकर्मीको गाडीलाई लक्षित गरी विष्फोट गराउँदा प्रहरीको गाडी हावामा उडेको थियो । बीबीसीका अनुसार गाडीमा सी ६० कमाण्डोहरु रहेका थिए ।
विष्फोटपछि माओवादी र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियाे । आज बिहान माओवादीहरुले महाराष्ट्रको गढचिरौली जिल्लामा ३६ भन्दा धेरै सवारी साधनमा आगजनी गरेका थिए ।
यो घटना त्यो समयमा भएको थियो, जुन बेला राज्यले ‘महाराष्ट्र दिवस’ मनाउने तयारी गरिरहेको थियो भने विद्रोहीहरु गतवर्ष २२ अप्रिलका दिन सुरक्षाकर्मीद्वारा मारिएका आफ्ना ४० जना कार्यकर्ताको पहिलो वार्षिकी मनाउने सप्ताहव्यापी कार्यक्रमको अन्तिम चरणमा थिए ।
माओवादीको गुरिल्ला रणनीतिसँग मुकाबिला गर्नका लागि महाराष्ट्र प्रहरीले एक विशेष दलको स्थापना गरेको थियो । त्यसमा स्थानीय जनजाति समुदायका नागरिक सहभागी थिए । १९९२ मा बनेको यस विशेष दलमा ६० स्थानीय जनजाति समूहका मानिस थिए । कालान्तरमा यो समूहलाई सी ६० कमाण्डो भनिएको हो ।
सन् २०१४, २०१५ र २०१६ मा सी ६० कमाण्डोले माओवादी विरुद्ध चलाएका अपरेसनहरुमा सफलता प्राप्त गरेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६, १५:२४