काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको पूर्व निर्धारित वैशाख ३० को निर्वाचन सर्ने भन्ने अभिव्यक्ति नदिन राजनीतिक दल र नेताहरूलाई आग्रह गरेको छ ।
आयोगले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरू तीव्रताका साथ अन्तिम चरणमा पुगेको हुँदा निर्वाचनको मिति सर्ने अभिव्यक्ति नदिन सरोकारवालाहरूलाई आग्रह गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको मिति नजिकिँदै गर्दा चुनावको मिति सर्न सक्ने अभिव्यक्ति दिएर मतदातामा भ्रम सिर्जन नगर्न आग्रह गर्नुभयो ।
आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।
आयोगको हिजोको बैठकले घिसिङ र अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे स्पष्टिकरण सोध्ने निणर्य गरेको हो ।
आयोगले दुबै जनालाई पत्र पठाएर ७ दिनभित्र चित्तबुझ्दो जवाफ दिन भनेको छ ।
स्थानीय तह निर्वाचनको लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये ३९ जिल्लाको ७० लाख ३३ थान मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९, ०६:५१