काठमाडौँ । राजनीतिक दललाई चुनाव लागिसकेको छ, उम्मेद्वारका आकाङ्क्षीहरू पार्टी कार्यालय र पार्टी नेतृत्वमा धाइरहेका छन् ।
कतिपय दलबाट सर्वसम्मत सिफारिस भएका छन्, कतै अझँै अन्योल छ । तर, यसपटक अघिल्ला चुनावहरूमा जस्तो प्रचारप्रसारका सामग्री छाप्ने क्रम भने सुरू भएको छैन ।
चुनाव नजिकिएसँगै राजनीतिक दल र उम्मेद्वारका प्रचारप्रसार सामग्री बनाउन र छाप्न भ्याइनभ्याइ हुने काठमाडांैँ बागबजारका प्रेसहरू अहिले त्यति हतारमा छैनन् ।
कारण, प्रेसमा प्रचारप्रसारका सामग्री छाप्ने काम आइपुगेको छैन ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता र त्यसमा गरेको कडाइको प्रभावको रुपमा सुनसान भएको कतिपय प्रेस सञ्चालकहरू बताउँछन् ।
एउटा छापाखाना चलाउँदै आउनुभएका रमा बस्नेतको दैनिकी, बिहेको निमन्त्रणा कार्ड छपाइमा बितिरहेको छ ।
‘अघिल्लो चुनावमा अहिलेसम्म सात÷आठ लाख रुपैयाँको व्यापार भएको थियो । २०७४ को स्थानीय निर्वाचन सम्झँदै रमा भन्नुहुन्छ, ‘अहिले एक लाखको पनि काम आएको छैन ।’
गत निर्वाचनको समयमा ४५ दिनअघि उहाँलाई विभिन्न दलका प्रचारसामाग्री बनाउन भ्याइनभ्याइ हुन्थ्यो तर अहिलेको समय फुर्सदिलो छ ।
हरेक पटक निर्वाचनको मिति तय भएपछि बागबजार क्षेत्रमा राजनीतिक चहलपह बढ्थ्यो ।
विभिन्न दलका चिन्ह अङ्कित झण्डाहरूले बजार क्षेत्र रङ्गिचङ्गी बन्थ्यो । तर अहिले हालसम्म पनि बागबजारका अधिकांश प्रिन्ट व्यवसायी फुर्सदिला छन् ।
‘हामिलाई रातभर काम गरेर बस्नुपर्ने गरी प्रचार सामग्री छपाउने माग आउँथ्यो ।’ स्थानीय व्यवसायी रत्न तुलाधर सम्झनुहुन्छ । तर उहाँलाई हालसम्म चुनावी सरगर्मीले छोएको छैन ।
निर्वाचन अयोगले जारी गरेको निर्वाचन आचारसंहिताले भड्किलो प्रचारप्रसारमा रोक लगाउने भए पनि उम्मेद्वारहरूले टिसर्ट, टोपी, व्यानर, झण्डा, ब्याच जस्ता सामग्रीमा चुनाव चिन्ह छपाउने गरेका छन् ।
तर यसपटक यसको चहलपहल देखिएको छैन ।
एक जना प्रिन्ट व्यवसायी युवराज खरेल भने उम्मेद्वारहरूले चुनावी अभियानलाई सामाजिक सञ्जालमा केन्द्रीत गरेका कारण अन्य सामग्रीको माग घटेको हुनसक्ने विश्लेषण गर्नुहुन्छ ।
दलहरूबीच चुनावी तालमेलको क्रम चलिरहेको छ भने नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीलाई समेट्ने नाममा चुनाव सर्नसक्ने आशङ्का पनि छ ।
जसका कारण प्रेसका व्यवसायीकोे व्यस्तता बढिसकेको छैन । पियुष प्रिन्टिङ प्रेस बागबजारका सञ्चालक पुष्पा श्रेष्ठ पनि अन्य व्यवसायीझैँ फुर्सदिलो हुनुहुन्छ ।
निर्वाचन आयोगका अनुसार यस पटकको स्थानीय तह निर्वाचनमा ७९ राजनितिक दलले भाग लिदै छन् ।
१ करोड ७७ ला ३३ हजार ७ सय मतदाता निर्वानमा सहभागी हुँदैछन् ।
उनीहरूलाई आफ्नो पक्षमा पार्नको लागि विशेषगरी ठूला राजनीतिक दलले करोडौँ खर्च गरेर प्रचार सामग्री बनाउने गरेका छन्, तर यस पटक अहिलेसम्म यो क्रम सुरू भइसकेको छैन ।
प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९, १४:२१