काठमाडौँ । स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सरकारमा सहभागी दलहरूको सहमति कार्यान्वयन जटिल बन्दै गएको छ ।
विशेषगरी नेपाली काँग्रेसका जिल्लास्तरका नेताहरूको दवावका कारण शीर्ष नेतृत्व तालमेलमा बाध्य पार्न नहुने निचोडमा पुग्न थालेको छ।
यद्यपी पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने तालमेलको सहमति कार्यान्वयन गर्नुपर्ने दवावमा हुनुहुन्छ ।
काँग्रेसको जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा नेताहरूले तालमेलका लागि बाध्य पार्न नहुनेमा जोड दिन थालेका छन् ।
हिजोको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले यसअघि काँग्रेसको समर्थनमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको स्थानमा यसपाली काँग्रेसले उम्म्ेदवारी दिनुपर्ने त्यसो नभए एक्लाएक्लै प्रतिस्पर्धा गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।
काँग्रेसका अर्का महामन्त्री गगन थापाले पनि यसअघि नै सहमति नभएका स्थानमा पार्टी एक्लै चुनावी मैदानमा उत्रनुपर्ने बताइसक्नु भएको छ ।
चितवनको भरतपुर महानगरपालिकामा तालमेलको विरोध गर्दै काँग्रेसका ५० जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियानको घोषणा गरेका छन् भने अरु जिल्लामा पनि अहसन्तुष्टि छ ।
काठमाडौं महानगरपालिकामा पनि गठबन्धनबाटको उम्मेद्वार को हुने भन्ने टुङ्गो लागेको छैन ।
पोखरा महानगरमा गठबन्धनबाट नेकपा एसले दाबी गरिरहदा निणर्य भइसकेको छैन । सरकारमार रहेको दल नेकपा एकीकृत समाजवादीले भने आफूहरूलाई हेप्न खोजिएको निष्कर्ष निकाल्दै त्यसो नगर्न चेतावनी दिएको छ ।
काठमाडौँमा हिजो भएको एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई कम न ठान्न चेतावनी दिनु भयो ।
नेकपा एकीकृत समाजवादी पार्टीका नेता जगन्नाथ खतिवडाले सीआईएनसँग कुराकानी गर्दै सबैका आआफ्नै दावी हुँदा उम्म्ेदवार छनोट, प्रचारप्रसारमा समस्या भएको बताउनुभयो ।
विराटनगर महानगरपालिकामा काँग्रेसको तर्फबाट मेयरमा सात जनाको नाम सिफारिस भएको छ भने उपमेयरमा १२ जनाको सिफारिस परेको छ ।
यहाँ पनि सरकारमा रहेका अरु दलले आफूलाई प्राथमिकता दिनुपर्ने बताउँदै आएका छन् ।
यसअघि बिराटनगरमा काँग्रेसको तर्फबाट भीम पराजुली मेयर निर्वाचित रहनुभएको थियो ।
काँग्रेसले ललितपुरमा पनि आफ्नो नेतृत्व दाबी गरेको छ । ललितपुरको एक महानगरपालिका सहित ६ स्थानीय तहमा सत्ता गठबन्धनभित्र सर्वसम्मत हुन नसकेपछि समस्या भएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९, ०७:२६