काठमाडौँ । बनेपाका ६३ वर्षिय श्रीधरराज पाण्डे भूकम्पले तहसनहस बनाएका हनुमान ढोका दरवार क्षेत्रका संरचना नियालिरहेको अवस्थामा भेटिनुभयो ।
भत्केको इतिहास छिटै उठेको हेर्ने रहरले पाण्डे बर्सेनि काठमाडौँ आइरहनुहुन्छ ।
२०७२ साल वैशाख १२ गते आएको भूकम्पले ढलेका घर, भवन लगायत संरचना बनिसकेका छन् । तर पुरातात्विक सम्पदा पुनर्निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ ।
कतै विवादले त कतै सामग्री अभावले काम प्रभावित बनिरहेको छ । सम्पदा निर्माणमा भइरहेको कामप्रति उहाँ खुसी हुनुहुन्न ।
‘विदेशीलाई हाम्रो देशका यी सम्पदाले तानेर ल्याउने हो ।’ सीआईएनसँग पाण्डेले प्रश्न गर्नुभयो, ‘यही संरचना बन्न यत्रो वर्ष लागेपछि पर्यटक के हेर्न आउने ? आएकालाई के देखाउने ?’
काठमाडौँकै सुन्धारामा रहेको मनमोहक धरहराको उचाइ र निर्माण सम्पन्न भएको बारेमा धेरैले ख्याल गरे ।
तर सरोकारवाला निकायका प्रतिनिधि भने निर्माणका क्रममा प्रयोग गरिएका सामग्रीको बारेमा चियाचौतारोमा अझैँ छलफल गर्छन् ।
१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले चुना, मास, सिङ्गमर्मर लगायतका सामग्री प्रयोग गरेर बनाउन लगाएको धरहरा २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भयो ।
सात वर्षपछि धरहराले पुरानै स्वरुप पाएको छ तर मौलिकता गुमाएको भन्दै स्थानीयबासी चिन्तित छन् । पुराना धरोहर र कलाहरूमा सांस्कृतिक महत्वसँगै वैज्ञानिक प्रविधि पनि मिसिएको दाबी वसन्तपुरका डम्मर तामाङ को छ ।
धरहरा निर्माणमा झण्डै दुई सय वर्ष पहिले प्रयोग गरिएको प्रविधि बिर्सिएर आधुनिक शैली अपनाइएकोमा उहाँलाई चित्त बुझेको छैन । भन्नुहुन्छ, ‘अहिलेका सामान पनि असली छैनन् र मान्छे पनि ।’
राजा प्रताप मल्लले १७ सय २१ सालमा बनाउन लगाएको रानीपोखरीको पुनर्निर्माणमा कङ्क्रिटको प्रयोग गरिएपछि सम्पदाविद्ले विरोध गरे ।
सम्पदाविद् तेजरत्न तुलाधरले पनि पुरातात्विक महत्व नमास्न महानगरलाई पटकपटक आग्रह गर्नुभएको थियो ।
संरक्षणकर्मी र पुरातत्व विभागको निर्देशनमा समेत अटेरी बनेको काठमाडौँ महानगर, मन्त्रिपरिषद्ले चासो देखाएपछि मात्र कङ्क्रिट प्रयोगबाट पछि हट्यो ।
कमल पोखरीको घाटमा कङ्क्रिटको प्रयोग र बीचमा कमलको फूल बनाउने महानगरको निर्णयमा पनि सम्पदाविद्ले आपत्ति जनाए । प्राचीन स्मारक संरक्षण ऐन्, २०१३ को दफा ८ मा प्राचीन स्मारक संरक्षणका लागि जमिन खन्न नदिइने उल्लेख छ ।
तर वसन्तुर दरवार क्षेत्रको कित्ता नम्बर ९ सय ४२ मा व्यावसायिक भवन बनाईँदासमेत महानगर मौन देखियो ।
हनुमानढोका संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवम् निर्माणसम्बन्धी मापदण्ड, २०६४ अनुसार यस्ता सम्पदा क्षेत्र नजिक ३५ फिटभन्दा अग्ला भवन बनाइन पाइँदैन ।
यसमा पनि महानगर मौन देखिनुले सम्पदा संरक्षणमा जनप्रतिनिधि गम्भीर छैनन् भन्ने पुष्टि गर्ने एक जना सम्पदाविद् विष्णुराज कार्कीको तर्क छ ।
‘पाटी, पौवा मासेर सडक बनाउने, ढुङ्गेधाराको अस्तित्व नरहने गरी भवन निर्माण गर्ने, सम्पदाहरूको मर्मविपरित टेण्डर आह्वान गर्ने महानगरको शैलीले त्यो पुष्टि गर्छ ।’ कार्कीले दावी गर्नुभयो ।
एउटा तहमा काठमाडौँलाई सांस्कृतिक सहर बनाउनुपर्ने बहस चलिरहेको छ । संस्कृतिसँग जोडिएका संरचनाको संरक्षणमा भने पुरातत्व विभाग एक्लो महसुस गर्छ ।
विभाग अन्तर्गतको हनुमान ढोका दरवार हेरचाह अड्डाका प्रमुख सन्दिप खनाल सम्बन्धित निकायको बीचमा दोहोरो समन्वय नभएको बताउनुहुन्छ ।
‘संरक्षणको दायित्व स्थानीय तहको पनि हो ।’ कार्कीले थप्नुभयो, ‘तर कतिपय ठाउँमा पालिकाले गरेको कामको विरोध गर्न हामी नै जानुपर्ने अवस्था छ । हामीले सचेत बनाउनुपर्ने अवस्था छ । यसले पनि धेरैजसो सम्पदा निर्माणमा ढिलाइ भइराखेको छ ।’
सम्पदा संरक्षणको मुख्य दायित्व बोकेको स्थानीय तह, सम्पदाकै कारण पटकपटक विवादमा पर्यो।
तर यसबारे काठमाडौँ महानगरपालिका मौन छ । नागरिक र सम्पदाविद्हरु भने स्थानीय सरकारको कार्यशैलीमा चिन्ता गरिरहेका छन् ।
यसबारेको अडियो रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९, १४:५०