काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि राजनीतिक दलहरूले आजदेखि उम्मेदवारी दर्ता गराउँदै छन् ।
आज र भोलि उम्मेदवारी दर्ता गर्न सकिने छ ।
मतदाता नामावलीमा नाम भएका र २१ वर्ष उमेर पुगेका तर फैजादी अभियोग नलागेका जोसुकै नेपाली नागरिकले उम्मेद्वारी दिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेद्वारको लागि सम्बन्धित पालिकाका मतदाता मध्येबाट एक जना प्रस्तावक र एक जना समर्थक आवश्यक पर्ने छ ।
नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराउन १५०० रूपैयाँ धरौटी राख्नुपर्छ भने महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपमा विपन्न व्यक्तिलाई भने मनोनयन दर्ता गर्न ७ सय ५० रूपैयाँ मात्र लाग्ने छ ।
वडा अध्यक्षमा उम्मेदवारी दिन १ हजार रूपैयाँ शुल्क लाग्ने छ भने वडा सदस्यका लागि ५०० रुपैयाँ लाग्नेछ ।
निर्वाचन आयोगले आज र भोलिमा आफ्नो अनुकूल समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूले मनोनयन दर्ता गर्न सक्ने जनाएको छ ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता अनुगमनका लागि आयोगले अनुगमन टोली खटाएको बताउँदै आचारसंहिता उल्लङ्घन गरेको पाइएमा कारबाही गरिने बताउनुभयो ।
उम्मेदवार मनोनयन दर्ताका लागि जाँदा ३ बाई ३ आकारको एउटा मात्र झण्डा प्रयोग गर्न आयोगले अनुरोध गरेको छ ।कुनै दलको झण्डा, चिन्ह
भएको भेष्ट, टोपी, गम्छा नलगाउन र त्यस्ता चिन्ह अंकित झोला नबोक्न पनि आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ ।
निर्वाचन आयोगले ६ महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै मतपत्र छपाइ हुने जानकारी दिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १ महिना अगाडि नै त्यस्तो निणर्य गरिएको बताउनुभयो ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनमा उम्मेद्वारको मनेनयनका बोला हुन सक्ने अप्रत्यासित घटना रोक्न गरिएको सुरक्षा तयारीबारे जानकारी लिनुभएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका प्रमुखसँग उहाँले छलफल गर्नुभएको हो ।
गृहमन्त्री खाणले नेपाली प्रहरीका निर्वाचन हेर्ने प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमसँग जानकारी लिनुभएको हो ।
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९, ०७:११