काठमाडौं । सञ्चारकर्मीहरूले महिला नेतृत्व र समावेशीकरणका मुद्दामा प्राथमिकता दिदै मतदाता शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस पटक निर्वाचनबाट विजयी हुने महिलाको सङ्ख्या अघिल्लो स्थानीय तहको निर्वाचनको भन्दा कम हुने भएकाले पत्रकारले महिलाको सवाललाई प्राथमिकता दिनुपर्ने छलफलले निचोड निकालेको छ ।
केयर नेपाल, ओरेक नेपाल, गाउँपालिका राष्ट्रिय महासङ्घसँगको सहकार्यमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले स्थानीय निर्वाचनको सन्दर्भमा लैङ्गिकता र समावेशीकरणको सवालमा पत्रकारका लागि क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको सामुदायिक रेडियो प्रसारक सङ्घका कार्यकारी निर्देशक बालकृष्ण पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा ओरेक नेपालका सुनिता मैनालीले परिवार, समाजसँग लड्दै राजनीतिमा उदायका महिलालाई आफू सम्बद्ध पार्टीले जिम्मेवारी नदिँदा स्थानीय तह निर्वाचनमा महिला सहभागिता कम भएको बताउनुभयो ।
अघिल्लो स्थानीय तह निर्वाचनमा ४०.९६ प्रतिशत महिला निर्वाचित भए पनि यसपटक यो सङ्ख्या घट्न सक्ने भन्दै राजनीतिक दलहरूलाई निर्वाचन ऐन पालना गराउन सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्ने मैनालीको भनाइ थियो ।
कार्यक्रममा सहभागि विभिन्न पत्रपत्रिका, रेडियो, अनलाईन र टेलिभिजनका पत्रकारहरुले आफूले महिला र समावेशीकरणको मुद्दालाई प्राथमिकता दिँदै मतदाता शिक्षा सञ्चालनमा जोड दिने गरी सामग्री सम्प्रेषण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बनेका महिलालाई सञ्चारमाध्यमको पहुँचमा पुर्याउन सहयोग गर्नुपर्ने सामुदायिक सूचना नेटवर्क सीआईएनका म्यानेजर दीपक आचार्यले बताउनुभयो ।
कार्यक्रममा सहभागि विभिन्न पत्रपत्रिका, रेडियो, अनलाईन र टेलिभिजनका पत्रकारहरुले आफूले महिला र समावेशीकरणको मुद्दालाई प्राथमिकता दिँदै मतदाता शिक्षा सञ्चालनमा जोड दिने गरी सामग्री सम्प्रेषण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
दलहरूको घोषणापत्रमा लैङ्गिक समानताका विषय उल्लेख गरे पनि उम्मेदवारी दिँदा आफ्नो वा तालमेल भएका दलबीचको स्वार्थ पूरा गर्नमा केन्द्रीत भएको उहाँको भनाइ थियो ।
निर्वाचन पूर्व, निर्वाचनका समय र निर्वाचन पश्चात सञ्चारमाध्यमले गर्नुपर्ने कार्यबारे जानकारी गराउनुहुँदै निर्वाचनमा उम्मेद्वार बनेका महिला र उनीहरूका एजेण्डालाई प्राथमिकता दिनुपर्ने आचार्यले बताउनुभयो ।
कार्यक्रममा अकोरावका कोषाध्यक्ष सरोज पौडेलले स्थानीय तहको निर्वाचनमा राजनीतिक पार्टीको नेतृत्वमा महिला सहभागिता कम भएकै कारण उम्मेद्वार महिलाको सङ्ख्यामा कमि आएको बताउनुभयो ।
वडा तहदेखी नै राजनीतिमा महिलाको सहभागिता बृद्धि नगरि समस्याको समाधान नहुने उहाँले बताउनुभयो । उहाँले पुरुषको चेतना र मानसिकतामा परिवर्तन गर्नेगरी पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९, १६:२२