काठमाडौँ । स्थानीय तहको चुनावको मिति नजिकिएसँगै प्रमुख ठूला दलहरूले घोषणापत्र सार्वजनिक गर्ने क्रम लगभक सकिएको छ ।
उनीहरूले आफ्नो घोषणा पत्रमा विपद् व्यवस्थापनका लागि विभिन्न योजना पनि सार्वजनिक गरेका छन् ।
विपद्को पूर्व तयारी, विपत न्यूनिकरण र विपद्को समयमा राहत तथा उद्धार अनि विपद्पछि पुनर्निर्माणका ४ विषयगत क्षेत्रमा विपद् व्यवस्थापनका लागि २२ बुँदे रणनिति नेपाली काँग्रेसले घोषणा पत्रका उल्लेख गरेको प्रवक्ता डाक्टर प्रकाश शरण महतले बताउनुभयो ।
‘जलवायु अनुकूलन र विपद् व्यवस्थापन ः विकास र वातावरणबीच सन्तुलन’ भन्ने नारासहित नेकपा एमालेले पनि विपद् व्यवस्थापन र यसका असर न्यूनिकरणकका विषय आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।
जलवायुपरिवर्तनका प्रतिकूल प्रभावबाट समुदायलाई सुरक्षा र पर्यावरणको संरक्षण गर्न विकास र वातावरणबीच सन्तुलन कायम गर्ने, हरित विकासलाई प्रबद्र्धन गर्ने कुरामा एमालेले जोड दिएको प्रमुख सचेतक विशाल भट्राईले सीआइएनसँग बताउनुभयो ।
‘जोखिम व्यवस्थापनसहितको विकास, विपद्मा सहयोगी समाज’ नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको बुँदा हो ।
डुबान, बाढी, पहिरो जस्ता विपद्हरूबाट जनधनको क्षति कम गर्न पूर्व चेतावनी प्रणालीको विकास गर्ने, जोखिम संवेदनशील भूउपयोग विश्लेषण गरी जोखिमरहित स्थानमा मात्र बस्ती बसाउन आवश्यक कदम चालिने लगायतका विषय प्राथमिकतामा रहेको नेकपा एसको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको भनाइ छ ।
जनता समाजवादी पार्टी (जसपा)ले विपद् व्यवस्थापनको छुट्टै नीति नलिए पनि वातावरण सम्बन्धी नीति र सहरीकरण, आर्थिक कोरिडोर र भू-उपयोग नीतिमा विपद् व्यवस्थापनलाई सम्वोधन गरिएको जनाएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि विपद् व्यवस्थापनका विषयलाई प्राथमिकतामा राखेको छ । नेकपा माओवादी केन्द्रको भने स्थानीय निर्वाचन लक्षित घोषणा पत्र जारी भइ्सकेको छैन ।
नेपालमा विभिन्न विपद्का कारण बर्सेनि औसतमा एक हजार जनाको मृत्यु हुने गरेको छ भने ६ लाख बढि प्रभावित हुने गरेका छन् ।
एक अध्ययनका अनुसार नेपालको ८० प्रतिशत जनसङ्ख्या विपद्को जोखिममा रहेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९, ०९:००