डडेल्धुरा । देशभरि नै चुनावको तामझाम सुरू भएको छ ।
उम्मेदवार तथा राजनीतिक दलहरू युवाहरूलाई केन्द्रीत गर्दै रोजगारीको आश्वासन दिइरहेका छन् । अघिल्लो निर्वाचनमा पनि दलहरूले यसैगरी आश्वासन दिएका थिए ।
चुनावको मुखैमा रोजगारीको खोजीमा विदेश जाने युवाहरू घटेका छैनन् ।
बझाङको बित्थडचिर गाउँपालिकाका सन्तोस बोहराको मतदाता नामावलीमा नाम छ । तर उहाँ रोजगारीको खोजीमा भारत हिँड्नुभयो ।
उहाँलाई स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गाराएकाहरूले भारत नजान भन्दै थिए ।
तर उहाँका लागि उम्मेद्वारको आश्वासनभन्दा काम ठूलो भएको छ ।
बैतडी पाटन नगरपालिका १० का ३२ वर्षका धर्मराज भट्ट भारतमा रोजगारी गर्दै आउनुभएको छ ।
पटकपटक भोट हाल्नुभएका उहाँले यसअघि पनि युवाहरूलाइ रोजगारी दिने नारा धेरै सुन्नुभयो ।
तर व्यवहारमा कार्यान्वयनमा आएन ।
स्थानीय तहका जनप्रतिनिधिले ५ वर्षसम्म युवा लक्षित काम गर्न नसकेको र वेरोजगारीको अवस्था कम नभएको भन्दै युवाहरू चिन्तित भएका छन् ।
देशको विकासभन्दा पनि आफ्नो विकासमा जनप्रतिनिधि केन्द्रीत देखिएकाले मतदान नगरी रोजगारीका लागि भारत जान बाध्य भएको डडेल्धुराका अर्जुन ओझाको गुनासो छ ।
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा रोजगारीका लागि भारत जाने नेपालीहरूको सङ्ख्या पनि बढेको छ ।
एक हप्ता अगाडि दैनिक तीन सयको सङ्ख्यामा गौरीफन्टा नाका हुँदै भारत जाने गरेका थिए तर, अहिले त्यो सङ्ख्या हजारको हाराहारीमा पुग्ने गरेको छ ।
भारतबाट नेपाल फर्किनेहरूको सङ्ख्या भन्दा भारत जानेहरूको सङ्ख्या धेरै रहेको तथ्याङ्कले देखाएको छ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९, १३:५६