काठमाडौँ । मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत संस्था मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी) ले आज १९ औँ वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा सीएमसीले काठमाडौँको थापाथलीस्थित आफ्नै कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा सीएमसी नेपालका कार्यकारी निर्देशक रामलाल श्रेष्ठले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना, सामुदायिक मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग, विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम र सुरक्षित आप्रवासन परियोजनामा मनोसामाजिक सहयोग कार्यक्रमका बारेमा जानकारी दिनुभयो ।
लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य योजना स्थानीय सरकारको सहकार्यमा प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशका ८ जिल्लाका १९ वटा स्थानीय तहमा सञ्चालन भइरहेको उहाँको भनाइ थियो ।
कोभिडको सन्दर्भमा लैङ्गिक हिंसा प्रतिकार्य कार्यक्रम मधेश प्रदेश र कर्णाली प्रदेशका ४ जिल्लाका ७ वटा पालिकामा गत सेप्टेम्वर २०२० देखि सञ्चालन भएको पनि उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग साझेदारी गरी सञ्चालन गरिएको सामुदायिक मानसिक स्वास्थ्यमा कार्यक्रममा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तालिम, क्लिनिकल सुपरभिजन र कोचिङको माध्यमबाट क्षमता अभिबृद्धि गर्ने र मानसिक स्वास्थ्यको प्रर्वधन र मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको उपचारमा सहयोग पुरयाउन जनचेतना अभिवृद्धि गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।
सीएमसी नेपालमार्फत सन् २०२१ को अन्त्यसम्ममा नेपालका विभिन्न ३५ जिल्लाहरूमा १ हजार १ सय ९५ स्वास्थ्यकर्मी तथा ३ सय २४ डाक्टरहरूले तालिम प्राप्त गरेका छन् ।
‘यस कार्यक्रममार्फत हालसम्म ६६ हजार ६ सय ६३ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूले स्थानीय स्वास्थ्य संस्थाका तालिम प्राप्त डाक्टर तथा स्वास्थ्यकर्मीहरुबाट मानसिक स्वास्थ्य समस्याको उपचार पाएका छन् ।’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘यसमध्ये ४० प्रतिशत चिन्ताजन्य समस्या, २६ प्रतिशतमा डिप्रेशन र बाँकीमा मानसिक असन्तुलन, छारे रोग, कनभर्जन डिसअडर लगायतका मानसिक समस्या रहेको पाईएको छ ।’
सीएमसी नेपालको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले सैद्धान्तिक, प्रशस्त अभ्यास तथा विशेषज्ञ मनोविद्हरुको सुपरिवेक्षणमा आधारित ६ महिने मनोपरामर्श तालिमको पाठ्यक्रम र तालिम सामग्री स्वीकृत भएको छ ।
वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा शिक्षण अस्पताल महाराजगञ्जका मानसिक स्वास्थ्य विभाग प्रमुख डा सरोज ओझा, सीएमसी नेपालका प्राविधिक निर्देशक, वरिष्ठ चिकित्सा मनोविद डा पशुपति महत र वरिष्ठ मनोविद् करुणा कुवँरले पत्रकाहरूले उठाएको विभिन्न प्रश्नको जवाफ दिनुभएको थियो ।
नेपालमा मानसिक स्वास्थ्य नीति, सरकारको बुझाइ, कोभिड १९ पछि नागरिकमा देखिएको मानसिक स्वास्थ्य समस्या, बालबालिकामा कोभिडले पारेको प्रभाव, लैङ्गिक हिंसा लगायतका बारेमा पत्रकारहरूले जिज्ञासा राखेका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९, १७:२१