काठमाडौँ । पछिल्ला दिनहरूमा चीन र भारतमा कोरोना सङ्क्रमण बढ्दै गइरहेको छ ।
युरोपका कतिपय देशमा पनि फेरि कोरोना सङ्क्रमण बढिरहेको छ ।
आउँदो ३० को निर्वाचनको लागि बढेको चहलपहलका कारण नेपालमा पनि कोरोना सङ्क्रमणको जोखिम हुन सक्ने चिन्ता विज्ञहरूले गरेका छन् ।
सभा, सम्मेलन, जुलुस, सार्वजनिक कार्यक्रम अथवा मानिसको बढि जमघट हुनुकै कारण कोरोना भाइरस फैलिने गर्छ ।
राजनीतिक दल तथा उम्मेदवार, निर्वाचनलाइ लक्षित गर्दै मतदाताको घरघरमा पुगिरहेका छन् । दैनिक सभा सम्मेलन पनि भइरहेको छ । एकै चरणमा चुनाव हुने भएकाले अहिले देशभरि नै मानिसहरूको चहलपहल बढेको छ ।
तर चुनाव केन्द्रीत कार्यक्रममा सहभागीहरूले स्वास्थ्यको मापदण्ड पालना गरेको पाइँदैन । महोत्तरी गौशालाका देवनारायण महतोलाई चुनावकै कारण कोरोना सङ्क्रमण फैलेला कि भन्ने चिन्ता छ ।
निर्वाचन आचारसंहितामा कोभिड १९ वा अन्य महामारी नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकार तथा सम्बन्धित निकायबाट जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको प्रतिकुल हुने गरि गतिविधि गर्न नपाइने उल्लेख छ ।
जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसार गर्दा स्वास्थ्य मापदण्ड पूणर् रूपमा पालना गर्नुपर्ने भए पनि यसको उल्लङ्घन भइरहेको निर्वाचन आयोगका सह-प्रवक्ता सुर्यप्रसाद अर्याल बताउनुहुन्छ ।
अहिले नेपालमा सङ्क्रमण दर दुई अङ्कमा सीमित छ । तर देशैभरि भीडभाडका कार्यक्रम एकैपटक बढ्दा यसले जोखिम बढाउन सक्नेतर्फ विज्ञहरूले सचेत गराइसकेका छन् ।
चीन र भारतमा कोरोनाको अर्को लहर प्रवेश गरिसकेको अवस्थामा सचेत नभए नेपालमा पनि यसको जोखिम छ ।
नेपालमा डेल्टा, डेल्टा प्लस तथा ओमिक्रोन भेरियन्ट देखिसकेको छ । हाल डेल्टाक्रोन र एक्स-ई भेरियन्ट देखिएको छ जुन ओमिक्रोन भन्दा १० गुणा छिटो सर्न सक्ने भनिएको छ ।
सङ्क्रामक रोग विशेषज्ञ डा. भोजराज अधिकारी बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुहुन्छ ।
निर्वाचन आचारसंहिता पालना गर्दै घरदैलो अभियान तथा सभा सम्मेलन गर्ने र बढि भीडभाड हुने क्षेत्रमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरे कोरोना सङ्क्रमण फैलनबाट रोक्न सकिने विज्ञहरू बताउँछन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९, १२:४१