नेपालगञ्ज । नेपालगञ्ज धम्बोझीको मुख्य चारलेन सडकबाट झण्डै १ सय मिटर पश्चिममा सिमान्तकृत, लोपोन्मुख चिडिमार समुदायको बसोबास छ ।
सरकारले चरा मार्न रोक लगाएपछि ज्याला, मजदुरी गरेर जिविकोपार्जन गरिरहेको यो बस्तीलाई अझैपनि गरिबीले छोडेको छैन ।
जनप्रतिनिधि आएको ५ वर्षमा बस्तीमा केही बाटो निर्माण भए । तर, चाहाना अनुसारको काम हुन नसकेको गुड्डी चिडिमारले बताउनुभयो । जनप्रतिनिधिले निम्न वर्गभन्दा पहुँचवालाहरुलाई प्राथमिकतामा पारेकोमा उहाँको दुखेसो छ ।
सुनिल चिडिमारले पनि इमान्दार, जनताको हितमा काम गर्ने, आफ्नो दुःख बुझ्ने नेता चाहनुभएको छ ।
अहिले पनि घर दैलोमा आएका उम्मेदवारले विकास गरिदिने र रोजगारी दिने भन्दै आश्वासन बाँडिरहेका छन् । तर जितेर गएपछि उनीहरु फर्किएर नआउने अनुभव निलम चिडिमारको छ ।
यसअघिका जनप्रतिनिधिले पाँच वर्षको अवधिमा गरेका काम प्रति पनि नागरिकहरू सन्तुष्ट छैनन् ।
चुनाव खर्चिलो बन्दै जाँदा जनप्रतिनिधिबाट विकास र सेवाको अपेक्षा गर्न नसकिएको महेन्द्र बहुमुखी क्याम्पसका उप-प्रध्यापक भुवनेश्वर लामिछाने बताउनुहुन्छ ।
हरेक नागरिकले गलतलाई गलत र सहिलाई सहि भन्ने आँट नगर्दासम्म विकास र सेवा सुविधाको परिकल्पना गर्न नसकिने राजनीतिक विश्लेषक जर्नादन आचार्य (शर्मा) को भनाइ छ ।
निर्वाचनमा उम्मेदवारहरू घरदैलोमा पुग्दा विभिन्न मतदातालाई लोभ, लालच र प्रलोभनमा पार्ने कोसिस गर्छन् ।
अहिले पनि उम्मेदवारहरूले त्यस्तै प्रयत्न गरिरहेका छन् । तर, काम गर्न सक्ने, भरोसा योग्य व्यक्तिलाई मतदाताले छनोट गर्नुपर्ने नागरिक अगुवाहरु बताउँछन् ।
आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घर दैलोमा पुगेका छन् र आफ्नो योजना सुनाउँदै भोट मागिरहेका छन् ।
तर, खर्चिलो चुनावी प्रचारप्रसारसहित लोकप्रिय नारा लिएर घरदैलोमा पुगेका उमेद्वारलाई आम नागरिकले भने सजिलै विश्वास गर्न सकिरहेका छैनन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९, १२:५५