काठमाडौँ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले निर्वाचन आचारसंहिता २०७९ सार्वजनिक गरेको छ ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल, सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीले आचारसंहिता संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।
आचारसंहिता सार्वजनिक गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिताको पालना गर्न तथा गराउन रेडियोहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनको लागि आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले आचारसंहिता उल्लङ्घन नहुने गरी समाचार तथा विचार प्रवाह गर्न पनि आग्रह गर्नुभयो ।
सामुदायिक रेडियोहरूले यसै पनि ग्रामीण भेगका नागरिकको विषयलाई प्राथमिकतामा राखेको, उनीहरूको सुखदुःखको बिषय उठाइरहेको भन्दै तल्लो तहसम्म निर्वाचनका सूचना तथा जानकारी दिने काम पनि गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।
सबै पक्षको सुझाव र स्वीकृती लिएर निर्वाचन आचारसंहिता जारी गरेको भन्दै उहाँले यसमा कसैले पनि असहमति जनाउनु आवश्यक नरहेको धारणा राख्नुभयो ।
उहाँले आचारसंहिता उल्लङ्घन गरेका कार्यक्रमका दृश्य तथा फोटोहरू प्रकाशन, प्रसारण नगर्न बरू उक्त चुनावी कार्यक्रममा आचारसंहिता उल्लङ्घन भएको थियो भन्ने जानकारी गराइदिन पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
सामाजिक सञ्जालको उचित रूपमा प्रयोग गर्न तथा गराउने वातावरण बनाउन भूमिका खेल्नको लागि पनि उहाँले सञ्चार माध्यमसँग अनुरोध गर्नुभयो ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले निर्वाचन आयोगले नै जारी गरेको आचारसंहिताभित्र रहेर आफूहरूले सामुदायिक रेडियोको लागि आचारसंहिता जारी गरेको बताउनुभयो ।
समुदायका नागरिकको सुख दुःखका साथी सामुदायिक रेडियोहरूले निर्वाचनका समयमा स्वच्छ र तटस्थ बनेर काम गरिरहेको उहाँको भनाइ थियो ।
अकोराबका उपाध्यक्ष बन्दना दनुवारले सबै सामुदायिक रेडियोलाई निर्वाचनको बेलामा तटस्थ भएर सा`मग्री प्रसारण गर्न आचासंहिताले सहयोग पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रममा अकोराबका महासचिब किशोरजङ थापाले सामुदायिक रेडियोको निर्वाचन आचारसंहिताभित्र रहेर समाचार प्रसारण गर्नको लागि सामुदायिक रेडियोहरूलाई आग्रह गर्नुभयो ।
यसअघि पनि सामुदायिक रेडियोहरूले आचारसंहिताको पालना गर्दै समाचारहरू प्रसारण गरिरहेको भन्दै अब पनि यसमा ध्यान दिइने उहाँले बताउनुभयो ।
आचारसंहिताः
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९, १५:४८