काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा २ सय ३०, उपप्रमुख पदमा ५ सय ३० महिला चुनावी प्रतिस्पर्धामा छन् ।
गाउँपालिकाको अध्यक्षमा १ सय ५५ जना र उपाध्यक्षमा ५ सय २६ जना चुनावी मैदानमा रहँदा वडाध्यक्ष पदको लागि ९ सय ४५ जना प्रतिस्पर्धामा छन् ।
उनीहरू सबैले विकसित र समृद्ध पालिका बनाउने एजेण्डा बनाएका छन् ।
खाँडाचक्र नगरपालिका कालिकोटको प्रमुख पदमा उम्मेदवारी दिनुभएका तारा शाहले जनप्रतिनिधि भएर काम गरेको अनुभव नभए पनि आफ्नो योजना नगरलाई समृद्ध बनाउने रहेको बताउनुभयो ।
शाहले शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक विकासको मुद्दालाई प्राथमिकतामा राख्नुभएको छ ।
नौकुण्ड गाउँपालिका रसुवाको उपाध्यक्ष बनेर काम गर्नुभएका सिर्जना लामाले आफूले गर्दागर्दै बाँकी रहेका अधुरा काम पूरा गर्ने चाहना रहेको बताउनुभयो ।
ओखलढुङ्गा सिद्धिचरण नगरपालिका प्रमुख पदका दाबेदार इच्छा कुमारी गुरुङले आफ्नो पहिलो प्राथमिकता महिला सशक्तिकरण भएको सुनाउनुभयो ।
गत निर्वाचनमा मधेस प्रदेशबाट १ जना महिला मात्रै नगरपालिकाको प्रमुखमा विजयी भए पनि यसपटक प्रमुख पदमा उम्मेद्वारी दिने महिलाको सङ्ख्या बढेको छ ।
रौतहटको गौर नगरपालिका प्रमुख पदका दाबेदार किरण ठाकुरले मधेशका महिलाको साक्षर दर बढाइ उनीहरूलाई आर्थिक रुपले सबल बनाउन चाहेको बताउनुभयो ।
२०७४ को स्थानीय तह निर्वाचनमा विभिन्न पदमा झन्डै ४० प्रतिशत महिला उम्मेदवार विजयी भएका थिए ।
जसमध्ये १८ प्रमुख र ७ सय जना उपप्रमुख पदमा थिए ।
यसपटक महिलाको उम्मेदवारी घटेको छ । जति महिलाहरू प्रतिस्पर्धामा छन्, राम्रो पालिका निर्माण गर्ने उनीहरूको योजना भने आकर्षक छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९, १५:१२