इलाम । इलामको राजदूवालीस्थित माइखोलाको बगरमा करिब ४० घरपरिवार बसोबास गर्छन् ।
बिहान सबैरै यहाँका नागरिक बगरमा पुग्छन् र दिनभर गिटी कुटेर कमाएको रकमले साँझबिहानको खर्च टार्छन् ।
गर्मी धेरै हुने भएकाले गिटी कुट्ने ठाउँमा प्राय सबैले त्रिपालको छहारी बनाएका छन् । नजिकै माइखालाबाट आउने शीतल हावाले थोरै भए पनि उनीहरूलाई राहत दिन्छ ।
माइखोलाको पानी निरन्तर बग्नु नियमित हो तर यो बगरको छेउमा बसोबास गर्नेहरूको सपना पूरा गर्ने आश्वासन धेरैले दिएर व्यवहारमा कार्यान्वयन नहुनु स्थानीयबासी अस्वाभाविक ठान्छन् ।
राम तामाङको दैनिकी पनि माइखोलाको बगरमा गिटी कुट्दै सुरु हुन्छ र साँझ परेपछि सकिन्छ ।
यसभन्दा पहिलेका निर्वाचनमा उहाँले आश्वासन दिइएका आधारमा भोट हाल्नुभयो । तर चुवाव जितेपछि नेताहरुले बिर्सने गरेको उहाँको गुनसो छ ।
यामबहादुर राईले गिटी कुट्न थालेको २२ वर्ष भयो । दुवै आँखा नदेख्ने उहाँले इशाराको भरमा गिटी कुट्नुपर्छ ।
चुनावको बेलामा राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गर्दै सुकुम्बासी, भूमिहीन, बेरोजगार, आदिवासी, जनजातिको क्षेत्रमा काम गर्छौँ भन्दै दर्जनौँ बुँदा सुनाउँछन् ।
चुनावका बेलामा दिइने आश्वासका भरमा मतदाताहरू भोट हाल्न जान्थे, कुनै समयमा यस्तो भए पनि हिजोआज भने बढेको चेतनाको स्तरका कारण मतदाताले पार्टी, आफन्तभन्दा पनि राम्रो काम गर्नेलाई रोज्छन् भन्ने सन्देश माइखोलाको बगरमा बस्ने नागरिकहरूको विचारले दिन्छ ।
राजनीतिक दलका उम्मेदवार र नेताकार्यकर्तालाई चुनावको प्रचारप्रसारमा भ्याइनभ्याइ छ ।
घरदैलो अभियानदेखि सभासम्मेलनमा उनीहरूको ध्यान केन्द्रीत भइरहँदा दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्नेहरू भने आफूहरूको दुखमा कसैले पनि साथ नदिएको गुनासो गर्छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९, १५:२९