पर्सि वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधी सुरु भएको छ । यो समयमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न पाउँदैनन् ।
मौन अवधीमा उम्मेद्वारहरूले मत माग्ने, आफ्नो चुनावी अभियान गर्ने, सामाजिक सञ्जालमा पोष्ट गर्ने, मतदातासँग भेटघाट गर्ने लगाएत कार्य गर्न मिल्दैन ।
मौन अवधिमा मतदाता प्रभावित पार्ने दुष्प्रयास हुनसक्ने भन्दै आयोगले त्यसलाई रोक्न र त्यस्ता अपराधमा संलग्नलाई कारबाही दायरामा ल्याउन सूचना सङ्कलकका रुपमा सयभन्दा बढी स्थानमा सुक्ष्म अनुगमनकर्ता समेत खटाएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।
गृहमन्त्रालय लगायतका सरोकारवाला निकायले भने मौन अवधिको अनुगमन र निगरानी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा भइरहेको बताएका छन् ।
मौन अवधिमा आचारसंहिता विपरितका गतिविधि हुने र मतदाता प्रभावित हुने गरेको विगतको अभ्यासमा देखिएको भन्दै विज्ञहरूले भने निर्वाचन आयोग र सुरक्षा निकाय चनाखो हुनुपर्ने बताएका छन् ।
सीआईएनसँग कुराकानी गर्दै पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले भन्नुभयो, ‘मतदातालाई कसैले प्रलोभन देखाउँछ भने उसले भोलिको स्थानीय तहलाई मितव्यी, पारदर्शी नबनाउन पनि सक्छ भन्ने आम नागरिकले बुझ्नुपर्छ । मतदाता आफैँ सचेत त हुनुपर्यो नै सुरक्षा निकाय, मतदान गराउन सहभागी भएका सरोकारवाला सबैको ध्यान पनि यसबेलामा पुग्नु आवश्यक छ ।’
निर्वाचन आयोगले मतदानको दिनसम्म संयमित हुन आम मतदाता तथा उम्मेद्वारहरूलाइ अनुरोध गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भोट हाल्ने उमेर पुगेका र मतदाता नामावलीमा नाम भएका सबैलाई आफ्नो अधिकार ढुक्क भएर प्रयोग गर्न अपील गर्नुभयो ।
देशभरका मतदान केन्द्रबाट नयाँ मतदाताको लागि आज र भोलि मतदाता परिचयपत्र वितरण तथा मतदाता शिक्षा कार्यक्रम पनि चलाइँदैछ ।
यसपालिको चुनावमा ६५ दल सहभागि छन् भने चुनावकै लागि १ लाख ९ हजार ८८ कर्मचारी खटिने पनि आयोगले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९, ०६:५३