काठमाडौँ । भोलि हुने स्थानीय तहको निर्वाचनमा मादक पदार्थ सेवन गरेका व्यक्तिहरु मतदान केन्द्रमा जान नपाउने भएका छन् ।
निर्वाचन आयोगले एक सूचना जारी गर्दै मतदान केन्द्रमा जान सक्के व्यक्ति, जान नपाउने अवस्था र लैजान नमिल्ने वस्तुको बारेमा जानकारी दिएको छ ।
स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ का अनुसार मतदानको दिन मतदानकेन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नावालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिइने छ ।
मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएता पनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न नदिने गरी निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा सङ्केत देखिने कुनै वस्तु लैजान नपाइने पनि उहाँले बताउनुभयो ।
त्यस्ता कुनै कार्य कहीँकतैबाट भएमा कानून बमोजिम कारबाही हुने हुँदा मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालाहरूलाई आयोगले अनुरोध गरेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९, ०६:५१