काठमाडौँ । बम विस्फोट गराएको आरोपमा प्रहरीले नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलालाई पक्राउ गरेको छ ।
गएराति बुटवलमा भएको बम विस्फोटको घटनापछि नजिकै नेकपा माओवादीको पर्चा भेटिएको थियो ।
दाङको भालुबाङबाट आज बिहान ३ बजे पक्राउ परेका बास्तोलासँग उक्त घटनाको विषयमा प्रहरीले सोधपुछ गरिरहेको जनाएको छ ।
बास्तोलासँगै उहाँका सहयोगी असल र राजेन्द्रलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
सार्वजनिक बसमार्फत पोखराबाट बाँकेको कोहलपुर जाँदै गरेको अवस्थामा प्रहरीले तीनै जनालाई भालुबाङ चोकबाट नियन्त्रणमा लिएको हो ।
'श्रीमती बिरामी परेका कारण कोहलपुरमा जाँदै थिएँ । तर बुटवलको बम विस्फोटको घटनासँग जोडेर नियन्त्रणमा लिएको छ । गृहमन्त्री बालकृष्ण खाँणसँग सम्पर्क हुन सकेको छैन ।' नेता बास्तोलाले सीआईएनसँग भन्नुभयो,' हाम्रो विस्फोटको कुनै नीति छैन । गृहमन्त्रीसँग कुरा गरेपछि टुङ्गोमा पुगिएला ।'
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका नेताकार्यकर्ताले केही दिनअघि मात्रै नेकपा (बहुमत) पार्टी गठन गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९, ०७:२२