काठमाडौँ । बम विस्फोट गराएको आरोपमा पक्राउ परेका नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले करिब ६ घण्टापछि रिहा गरेको छ ।
गएराति बुटवलमा भएको बम विस्फोटमा संलग्नाको शङ्कामा प्रहरीले बास्तोलासहित तीन जनालाई बिहान ४ बजे दाङको भालुबाङबाट पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरु विस्फोटमा संलग्न नभएको पाइएपछि छोडिएको प्रहरीले जनाएको छ । बास्तोलासँगै उहाँका २ जना सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सार्वजनिक बसमार्फत पोखराबाट बाँकेको कोहलपुर जाँदै गरेको अवस्थामा प्रहरीले तीनै जनालाई भालुबाङ चोकबाट नियन्त्रणमा लिएको हो ।
बास्तोलालाई प्रहरीले उपलब्ध गरायो अङ्गरक्षक
नेता बास्तोलालाई सरकारले अङ्गरक्षक उपलब्ध गराएको छ । इलाका प्रहरी कार्यालय भालुबाङमा कार्यरत प्रहरी जवान मधुसुदन यादवलाई अङ्गरक्षकको रुपमा खटाइएको इलाका प्रहरी कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
सीआईएनसँग कुराकानी गर्दै नेता बास्तोलाले चुनावभरिका लागि सरकारले अङ्ग रक्षकको व्यवस्था गरेको बताउनुभयो ।
पक्राउ परेपछि बास्तोला र गृहमन्त्री बालकृष्ण खाँणबीच बिहान टेलिफोन कुराकानी भएको थियो । त्यसक्रममा आफूले पार्टीको चुनाव बहिस्कारको नीति नभएको बताएको बास्तोलाले जानकारी दिनुभयो ।
'गृहमन्त्रीले निर्देशन दिएर होला । एक जना अङ्गरक्षक चुनावभरिका लागि पठाइदिनु भएको छ ।' बास्तोलाले भन्नुभयो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९, १२:००