भैरहवा । नेपालमा हवाई यातायात सुरु भएको ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आजबाट सञ्चालनमा आएको छ ।
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान कुबेतबाट आएको जजिरा एयरको जे ९५४५ उडान नम्बरको विमान अन्तर्राष्ट्रियतर्फ व्यावसायिक उडान गर्ने पहिलो वायुसेवा कम्पनी बनेको छ ।
जजिराको एयरबस ए ३२० विमान बिहान ७ बजेर ९ मिनेटमा भैरहवामा अवतरण भएको थियो ।
कुवेतबाट इरान, पाकिस्तान, भारतको नयादिल्ली, लखनउमाथिको आकास हुँदै आएको जजिराको जहाज लखनउबाट सोझै भैरहवा प्रवेश गर्ने रुट नभएका कारण बाराको सीमरा पुगेर चितवन हुँदै बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।
१ सय ६० सिट क्षमताको एयरबस फर्किँदा १ सय ३३ जना नेपाली लिई भैरहवाबाट कुवेत जाने छ ।
२५ सय ६६ औँ बुद्धजयन्तीको अवसर पारेर प्रधानमन्त्री शेर बहादुर देउवाले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको हो ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९, १२:२४