अछाम । अछाम जिल्लाका ३ स्थानीय तहमा नेपाली काँग्रेसले जितेको छ । कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र बान्नीगढीमा काँग्रेस विजयी भएको हो ।
कमलबजारमा काँग्रेसका यज्ञप्रसाद ढकाल ४ हजार २२८ मतका साथ नगरप्रमुखमा विजयी हुनु भएको छ भने ढकारी गाउँपालिकामा काँग्रेसकै प्रकाशबहादुर साउँदले ३ हजार १ सय ८१ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको छ । काँग्रेसकै नेत्रकला शाही ३ हजार एकसय मत ल्याएर उपाध्यक्षमा विजय हुनुभएको छ ।
कमलबजार नगरपालिकामा नगरप्रमुख काँग्रेसले जिते पनि उपप्रमुखमा चाहिँ एमालेका शारद बिष्ट (कुँवर) ले ४ हजार ५२८ मतका साथ जित हासिल गर्नुभएको छ ।
कमलबजारमा नेकपा एमालेबाट पराजित नगरप्रमुख पदका उम्मेदवार कटकबहादुर साउँदले ४ हजार ६५ र काँग्रेसबाट उपप्रमुखमा उम्मेदवार गौरी बिष्ट भण्डारी ३ हजार ६४८ मतका साथ पराजित हुनु भएको छ ।
ढकारीमा एमालेका धर्म शाही २ हजार ५५५ मत र नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष पदका उम्मेदवार शेरबहादुर बुढाले १ हजार ५ सय ९० मत ल्याउनु भएको थियो ।
बान्नीगढी जयगढ गाउपालिकामा पनि काँग्रेसका टेकबहादुर साउद अध्यक्ष र एमालेका बिन्दु रावल उपाध्यक्षमा विजयी हुनुभएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९, १२:५०