काठमाडौँ । स्थानीय तहको चुनाव यही वैशाख ३० मा हुँदै छ ।
तर विज्ञहरूले भने यो समयमा गलत र भ्रामक सूचना फैलिनसक्ने भएकाले सचेत रहन अनुरोध गरेका छन् । मिथ्या सूचनाले मानिसलाई भ्रमित मात्रै बनाउँदैन निर्वाचन प्रक्रियादेखि नतिजासम्ममा प्रभावित बनाउन सक्छ ।
प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत् भ्रामक तथा तथ्यहीन सूचनाहरू तीव्र गतीमा मानिसहरूको बीचमा फैलने खतरा हुने एक जना सञ्चारविज्ञ किरण चापागाईँले सीआईएनसँग बताउनुभभयो ।
विश्वव्यापी रूपमा नै सम्भावित मतदातासम्म पुग्नका लागि विभिन्न माध्यमहरूको प्रयोग गर्नेक्रम बढेको उल्लेख गर्दै उहाँले 'चुनाव विशेष हेलो सासद' कार्यक्रम' मा भन्नुभयो,' फेसबुक, टिकटक, ट्विटर लगायतका सामाजिक सञ्जालको सर्वाधिक दुरुपयोग चुनावका बेलामा हुन्छ। सावधानी अपनाउन आवश्यक छ।'
‘सामाजिक सञ्जाल आफैँमा राम्रो पक्ष हो तर खराब नियतका साथ, निहित राजनीतिक तथा आर्थिक स्वार्थ राख्ने समूह वा व्यक्तिहरूले यस्को दुरुपयोग पनि गर्नसक्छन् ।’ सञ्चारविज्ञ किरण चापागाईँले भन्नुभयो, ‘ राजनीतिक दलका उम्मेदवार जति चुनावमा उठ्छन् । जुनसुकै अवस्थामा पनि बढीभन्दा बढी मत ल्याउने आकाङ्क्षा वा प्रयत्न हुन्छ । त्यसमा दुष्प्रचारले केही सघाउ पुग्छ कि भन्ने भ्रममा उनीहरू हुन्छन् ।’
सामाजिक सञ्जालमा आएका सबै कुरा सत्य होइनन् भन्ने कुरा मनमा राख्नुपर्ने उहाँको भनाइ छ ।
सामाजिक सञ्जालमा आएका सूचना कसले राखेको छ , कस्तो व्यक्ति, संस्थाले राखेको भन्ने बारेमा जानकारी राख्नुपर्नेमा चापागाईँले जोड दिनुभयो ।
निर्वाचनसम्बन्धी जानकारी निर्वाचन आयोगको आधिकारिक फेसबुक पेज, ट्विटर, कलसेन्टरबाट लिनुपर्ने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९, १५:२१