काठमाडौँ । गएको वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत गणनाका क्रममा हुलहुज्जत गर्नेक्रम बढेको भन्दै गृहमन्त्रालयले त्यस्तो कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ ।
मतदान केन्द्रहरूमा विभिन्न राजनीतिक दल, दलका प्रतिनिधि, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि एवं मतदानस्थलमा प्रवेश गरेका विभिन्न व्यक्तिहरूले अनावश्यक वादविवाद गर्ने, मतगणनामा अवरोध सिर्जना गर्ने, मतपेटिका खोस्ने, मतपेटिका तथा मतपत्र नष्ट गर्ने गरेको भन्दै मन्त्रालयले त्यस्ता कार्यमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन भनेको छ ।
निर्वाचनसम्बन्धी कसूरजन्य कार्यहरूमा संलग्न भएका र मतगणना कार्यमा उल्लिखित कसूरमा संलग्न हुने व्यक्तिहरूलाई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारवाही गर्न नेपाल सरकार, गृह मन्त्रालयमार्फत ७७ जिल्लाका सबै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिने र सोको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिने निर्वाचन आयोगले निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभाये ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९, १३:५४