लक्ष्मण विश्वकर्मा, रेडियो प्रकृति दाङ
तुलसीपुर । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।
गएराति सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार मेयरमा एमालेका नरुलाल चौधरी निर्वाचित हुनु भएको छ ।
चौधरीले ५ हजार ३ सय ६० मतान्तरले सत्ता गठबन्धनका उमेदवारलाई पराजित गर्नुभएको हो ।
चौधरीले ३१ हजार ७ सय २८ मत प्राप्त गरी विजयी हुनु भएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले २६ हजार ३ सय ६८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जनाएको छ ।
उपमेयरमा एमालेका हुमा डिसी निर्वाचित हुनु भएको छ ।
डिसीले ३० हजार ४ सय ३ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट काँग्रेसका भुपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।
चौधरी यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित हुनु भएको थियो भने उपमेयरमा पराजित काँग्रेसका डाँगीले २०७४ सालको स्थानिय तहको निर्वाचनमा मेयर पदमा चौधरीसँग पराजित हुनु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९, ०७:०५