धनकुटा । क्यानडा सरकारको करिब ८ करोड अनुदान सहयोगमा २०३८ सालमा निर्मित सामुदायिक चिकित्सा अध्ययन क्याम्पसमा पूर्वका १६ वटै जिल्लाबाट प्रतिस्पर्धा गराई कोटा प्रणालीमा विद्यार्थी भर्ना लिइन्थ्यो ।
यहाँबाट हरेक वर्ष दुर्गमका एक सय २० जनाले सामुदायिक चिकित्सा सहायकको दक्षता प्राप्त गर्थे ।
गाउँमा सेवारत स्वास्थ्य कार्यकर्ताका लागि १० प्रतिशत सिट आरक्षण थियो । नमूना ग्रामीण स्वास्थ्य कार्यकर्ता उत्पादन गर्ने यो थलो आठवर्ष भन्दा बढी चल्न सकेन ।
४५ रोपनीमा फैलिएको क्याम्पसका भूकम्प प्रतिरोधी सुविधा सम्पन्न भवन तथा फर्निचर नाँसिदै छन् । केही भवनलाई धनकुटा बहुमुखी क्याम्पसका विद्यार्थी, प्राध्यापक र कर्मचारीले आवास बनाएका छन् ।
बाँकी पूर्वाधार सामग्री प्रतिफल दिने काममा सदुपयोग हुन नसकेको धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक किरण घिमिरेले बताउनुभयो ।
दाताको पैसा आउँदासम्म संस्था चलाउने त्यसपछि भने आवश्यकता र मागलाई समेत ख्याल नगर्ने सरकारी प्रवृतिको नमूना चिकित्सा क्याम्पस बनेको छ ।
स्वास्थ्य प्राविधिकको पढाइका लागि कुनै समय ख्याती कमाएको धनकुटाको सामुदायिक चिकित्सा अध्ययन क्याम्पस अहिले खण्डहर बनेको छ । दाताले हात झिकेपछि पठनपाठन बन्द भएको क्याम्पसको पूर्वाधार अलपत्र परेको छ ।
विद्यार्थीहरु भने निजी क्षेत्रबाट सञ्चालित क्याम्पसमा महङ्गो शुल्क तिरेर पढ्न बाध्य छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६, १५:२५