नेपालगञ्ज । स्थानीय तहको निर्वाचन सकिएसँगै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट रोजगारीका लागि भारत जानेक्रम बढेको छ ।
भारत पस्नेमा केही भोट हाल्नकै लागि घर आएकाहरू पनि भेटिन्छन् ।
दाङको शान्तिनगरका डोटीराम विक १६ जनाको समूहसहित एकाबिहानै नेपालगञ्जको जमुनाह नाकामा भेटिनुभयो ।
गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भोट हालेका उनीहरू भारत जाँदै गर्दा अब आउने जनप्रतिनिधिले आफ्नै पालिकामा रोजगारीको अवसर बनाइदिने उहाँको अपेक्षा छ ।
डोटीराम, श्रीमती गोमाका साथमा भारतको वैङ्गलोरमा फूल टिप्ने कामका लागि जाँदै गर्दा भेटिनुभयो ।
ठूला योजनाभन्दा पनि साना र सुहाउँदा योजना बनाएर नेपालमा नै रोजगारी बढाउने कार्यक्रम ल्याउन जनप्रतिनिधिलाई उहाँको अनुरोध छ ।
यसपालीको स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले कृषि, रोजगारीदेखि विकासनिर्माणका सपना बाँडेका थिए ।
पूरा हुननसक्ने सपना बाँड्नेभन्दा पनि कलकारखाना, उद्योगको स्थापना गरी स्वरोजगार बनाए भारत जानुपर्ने आफूहरूको बाध्यता टर्ने सीमा नाकामा भेटिनेहरू बताउँछन् ।
मुलुकमा २ हजार ७ सालको प्रजातन्त्रपछि पनि लोकतन्त्र, गणतन्त्र स्थापना भयो । त्यसैका जगमा बनेको नयाँ संविधान अनुसार तीन तहका सरकार पनि आए ।
तर, निम्न वर्गका नागरिकहरूको दुःख उस्तै छ । निर्वाचनका लागि भनेर कतिपय नेपालीहरू भारतबाट घर फर्किएका थिए ।
निर्वाचन सकिए लगत्तै १२÷१५ जनाको समूह बनाएर नेपालगन्जको जमुनाह नाकाबाट दैनिक, कैयौँ व्यक्ति भारत छिरिरहेका छन् ।
नेपालमा रोजगारी बढाउने आश्वासन दिने दलहरूले आफूहरूलाई भोट बैङ्कको रुपमा मात्र नबुझुन भन्ने चाहाना उनीहरूको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९, १६:२१