काठमाडौँ । अधिकांश विषय दोहोर्याउँदै र केही नयाँ कार्यक्रमसहित सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सङ्घीय संसदलाई हिजो संयुक्त रूपमा सम्वोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका प्राथमिकताहरू सार्वजनिक गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा कृषि उत्पादनलाई विशेष जोड दिँदै ऊर्जा, पर्यटन, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।
ग्रामीण सडक, यातायात, शिक्षा, स्वास्थ्यसँगै रोजगारीको मुद्दामा सरकारले नीति तथा कार्यक्रममा विशेष महत्व दिएको छ भने राष्ट्रिय गौरवका आयोजनाहरुको शीघ्र विकासमा नीति तथा कार्यक्रमले जोड दिएको छ ।
सरकारले धान, गहुँ लगायत तेस्रो मुलुकबाट आयात हुने बालिको उत्पादन बढाउने र कृषि उपजको आयात ब्यवस्थापन गरिने घोषणा गरेको छ ।
राष्ट्रपती भण्डारीले कृषि उत्पादन बढाउनका लागि रसायनिक मलको आपूर्ति सहज बनाउने, प्राङ्गारिक मलमा अनुदान दिने,कृषिमा सूचना प्रविधि बढाउने,पशुमा देखिने महामारी नियन्त्रणका लागि स्वदेशमै खोप उत्पादनमा जोड दिने लगायतका नीतिका साथ सरकार अघि बढ्ने बताउनुभयो ।
सरकारले आगामी आर्थिक वर्षमा थप २२ हजार दुई सय हेक्टर कृषि योग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने घोषणा गरेको छ ।
त्यसका लागि नहर निर्माण, नदी डाइभर्सनका लागि सुरुङ निर्माण लागयतका योजनालाई गति दिइने राष्ट्रपती भण्डारीले घोषणा गर्नुभयो ।
हिमाल र पहाडमा लिफ्ट सिँचाइ आयोजना र तराईमा पानी सञ्चय पोखरीमार्फत थप जमिनमा सिँचाइ उपलब्ध गराइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकाले राज्यका आधारभूत तहमा समानुपातिक प्रतिनिधित्व गराउने घोषणा गरेको छ ।
महिला, दलित, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको प्रतिनिधित्व गराउने, सरकारले राष्ट्रपती महिला उत्थान कार्यक्रमलाई थप प्रधावकारी कार्यान्वयन गर्ने राष्ट्रपती भण्डारीले नीति तथा कार्यक्रम घोषणाका क्रममा बताउनुभयो ।
बालबालिकाको हक अधिकार सुनिश्चित गर्दै स्वास्थ्य शिक्षा र पोषणमा सबैको पहुँच बढाउनुका साथै सडक बालबालिकामुक्त नेपाल अभियानलाई निरन्तरता दिइने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले राष्ट्रपती शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गर्ने भएको छ । विद्यालयको शैक्षिक गुणस्तर बढाउने, भौतिक पूर्वाधार विकास र अतिरिक्त कृयाकलापमा जोड दिइने नीति तथा कार्यक्रममा भनिएको छ ।
नीति तथा कार्यक्रम अनुसार दिवा खाजा कार्यक्रमलाई अब कक्षा आठसम्म बिस्तार गरिनेछ ।
नीति तथा कार्यक्रमको पूर्णपाठः
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९, ०६:५०