काठमाडौँ । जलवायु परिवर्तन र कृषिका विज्ञहरूले जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा देखिएको समस्या समाधानका उपायहरूका बारेमा किसानलाई पर्याप्त जानकारी दिनुपर्ने बताएका छन् ।
किसानले गरेको दुःख अनुसारको उत्पादन नभइरहेको अवस्थामा किसानलाई यसको बारेमा पर्याप्त सूचना र जानकारी दिन स्थानीय सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा पनि विज्ञहरूले जोड दिएका छन् ।
आज सामुदायिक सूचना नेटवर्क (सीआईएन) को १३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘जलवायु परिवर्तन र कृषि’ विषयक अन्तरक्रिया कार्यक्रममा जलवायु परिवर्तनका विज्ञ मञ्जित ढकालले जलवायु परिवर्तनको प्रकोप र यसको असरका कारण खेतीयोग्य जमिनमा प्रभाव परिरहेको तथा कृषि उत्पादन पनि घटिरहेको बताउनुभयो ।
लगाइएका कृषि बालीमा पनि कतै उत्पादन घट्ने, कतै बढ्ने जस्ता असर देखिएको जानकारी दिदै उहाँले नेपालमा जटिल र विविध भूगोलका कारण पनि जलवायु परिवर्तनको असर न्यूनिकरणमा एकै किसिमको उपायले काम नगर्ने भएकाले यसको समाधानको दीर्घकालीन सोँच आवश्यक रहेको धारणा राख्नुभयो ।
किसानलाई यसको असरका बारेमा राम्रोसँग जानकारी र सूचना दिनुपर्ने र त्यसको मुख्य जिम्मेवारी स्थानीय सरकार र स्थानीय सामुदायिक रेडियोको पनि भएको उहाँको भनाइ रहेको छ ।
अर्का जलवायु परिवर्तनका विज्ञ डा. उत्तम बाबु श्रेष्ठले जलवायु परिवर्तनको असरले नयाँनयाँ रोग किराको प्रकोप देखिएको र त्यसको प्रभाव कृषि उत्पादनमा परेको धारणा राख्नुभयो ।
जलवायु परिवर्तनको असरका कारण कृषिमा असर पार्ने किसिमका झारहरूको प्रकोप पनि बढेको तथा हिमाली खर्कहरूमा समेत असर देखिएकाले त्यसले समग्रमा कृषि उत्पादनमा प्रभाव पारेको बताउनुभयो ।
मौसममा आएको परिवर्तन र त्यसले उत्पादनमा पुग्ने असर र समाधानका उपायहरूका बारेमा किसानलाई जानकारी दिनुपर्ने तथा त्यसको मुख्य जिम्मेवारी स्थानीय सरकारले लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कृषिका विज्ञ तेज बहादुर सुवेदीले जलवायु परिवर्तनको असरले पारेको प्रभाव कम गर्न किसानलाई सचेत बनाउनुपर्ने तथा उत्पादनमा पुगेको क्षति कम गर्न कृषि बीमालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
मौसम र जलवायु परिवर्तनको तत्कालै देखिने असरका बारेमा किसानलाई छिटोभन्दा छिटो सूचना प्रदान गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले यसको लागि प्रविधिको अधिकतम सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
खाद्यका लागि कृषि अभियन्ता कृष्ण पौडेलले खाद्य प्रणालीमा जलवायु परिवर्तनको विषयले पारेको प्रभावका बारेमा सरकारले कम चासो दिएको भन्दै यसको लागि समय, लगानी र बजेट बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले कृषिमा जलवायु परिवर्तनले पारेको असर न्यूनिकरण गर्दै किसानलाई सचेत बनाइ उत्पादनसमेत बढाउदै जानु चुनौतीपूणर् विषय भए पनि सरकारले काम गरिरहेको बताउनुभयो ।
कृषि अनुसन्धानन परिषदसँग सहकार्य गरेर जलवायु परिवर्तन अनुकुलन हुने किसिमका बीउ, तरकारी तथा फलफूलका बारेमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
बेमौसममा हुने वर्षा, तातो र चिसो हावाका कारण समग्र कृषि उत्पादनको प्रक्रियामा असर पुगिरहेको भन्दै उहाँले यसबाट हुन सक्ने क्षति कम गर्नको लागि वातावरण अनुकुल हुने खेतीपाती र बीउबिजनको खोजी भइरहेको बताउनुभयो ।
स्थानीयस्तरमा फल्ने, वर्षौदेखि स्थानीयस्तरको हावापानी र माटोमा भिजिरहेको रैथाने बाली संरक्षणको लागि पनि सरकारले विषेश योजना बनाइरहेको उहाँको भनाइ रहेको थियो ।
जलवायु परिवर्तन र यसले कृषि उत्पादनमा पारेको असरका बारेमा किसानलाई पर्याप्त जानकारी पनि दिनुपर्ने आवश्यकता रहेको भन्दै उहाँले त्यसको लागि मुख्य सम्मन्वय स्थानीय सरकारले गर्नुपर्ने धारणा राख्नुभयो ।
लगाएको खेती, बालीले भनेअनुसारको प्रतिफल नदिएको, उत्पादन घटेको बताइरहे पनि जलवायु परिवर्तनको असरले उत्पादनमा ह्रास आएको बारेमा किसानलाई जानकारी नभएको र त्यसको बारेमा सचेतना जगाउनुपर्ने आजको आवश्यकता रहेको विज्ञहरूको भनाइ रहेको थियो ।
सीआईएनका म्यानेजर दीपक आचार्यले सीआईएनले नागरिकका हरेक मुद्दामा स्थापनाकालदेखि नै निरन्तर आवाज उठाइरहेको र अबको दिनमा पनि सामुदायिक र उत्तरदायी पत्रकारितालाई निरन्तरता दिइरहने बताउनुभयो ।
अकोराबका कार्यकारी निर्देशक बालकृष्ण पोखरेलले सामुदायिक रेडियोले यसअघि पनि यसबारेमा सूचना जानकारी र कार्यक्रम प्रसारण गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९, १६:२२