काठमाडौँ । सामुदायिक सूचना नेटवर्क (सीआईएन) को १३ औँ बार्षिकोत्सवको अवसरमा ४ जना सामुदायिक रेडियोकर्मी पुरस्कृत भएका छन् ।
सीआईएनले प्रत्येक वर्ष दिँदै आएको सामुदायिक रेडियो ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट सुसिला श्रेष्ठ, शोभा हुमागाईँ तथा भुवनरायमाझी पुरस्कृत हुनुभएको हो ।
श्रेष्ठ सीआईएन, हुमागाईँ रेडियो रोशी काभ्रे, रायमाझी रेडियो मुक्तिनाथ पाल्पामा कार्यरत हुनुहुन्छ ।
‘स्वयंसेवी सामुदायिक रेडियो राष्ट्रिय पत्रकारिता पुरस्कार’ रेडियो शिद्धबाबा सिन्धुलीमा कार्यरत ललिता हायूलाई प्रदान गरिएको छ ।
सीआईएनलाई निरन्तर रूपमा समाचार तथा सूचना सङ्कलन र प्रसारणमा सहयोग गर्ने विभिन्न विधाका ८ जना व्यक्तित्वलाई वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको छ ।
१३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उहाँहरूलाई सम्मान गर्नुभएको हो ।
सीआईएनले वरिष्ठ अर्थविद् डा चन्द्रमणि अधिकारी, शिक्षाविद् डा. विद्यानाथ कोइराला, प्राध्यापक धुब्र घिमिरे, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारी, सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई सम्मान गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल, राजनीतिक विश्लेषक जैनेन्द्र जीवन, शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठालाई सम्मान गरिएको हो ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९, १५:१५