रेडियो अर्थात मनको साथी । अझैँ भनौँ एक्लोपनको साथी । मेरा लागि रेडियो निकै प्यारो, जस्तो प्यारो सन्तानलाई आमाको काख छ ।
गाउँका साथीहरूभन्दा पनि नजिकको साथी त्यही भित्ताको रेडियो बनेको थियो । कहिलेकाहीँ रेडियोको ब्याट्री सकिन्थ्यो, एकछिन रेडियो बन्द हुँदा पनि मलाई साथी गुमाए जस्तो लाग्थ्यो ।
रेडियो सुन्ने सानैदेखिको बानीले बिस्तारै रेडियोमा बोल्ने रहर पनि जगाउन थाल्यो । साँच्चै हामी पनि यसरी बोल्न पाइन्छ कि पाईँदैन होला ? कस्तो हुन्छ होला बोल्ने ठाउँ अनि मान्छे, कस्ता हुन्छन् होला यति मीठो बोल्नेहरू ?
मनमा यस्तै प्रश्नले घर बनाउँदै गयो । तर यसको जवाफ दिने मेरो वरिपरि कोही थिएनन् । न त मेरो गाउँमा रेडियोमा काम गर्ने कोही थिए, न त मैले पढ्ने विद्यालयमा नै । यस्ता प्रश्न वर्षौँसम्म मनमै राखेँ । सकेको जति कल्पना गरेँ र त्यसैमा रमाएँ ।
वादविवाद र वक्तृत्वकला प्रतियोगितामा म थुप्रै पटक आफ्नो स्कूलका तर्फबाट जिल्लास्तरीय अनि राष्ट्रिय प्रतियोगितामा सहभागी भएँ ।
कहिले पुरस्कृत भएर फर्किन्थेँ । प्रतियोगितामा अब्बल घोषित भएपछि प्राध्यापकहरू भन्नुहुन्थ्यो, ‘तिमी त रेडियोमा बोल्ने जस्तै खरर, प्रस्ट बोल्छ्यौ । टाठी पनि छौ । पत्रकार बन्छौ कि क्या हो ?’ भन्दा मनमा थप उत्साह जाग्थ्यो ।
अनि त त्यसपछि पत्रकार बन्न होइन रेडियोमा बोल्ने मान्छे हुन मन लाग्यो । रेडियोबाट आफनै आवाज सबैलाई सुनाउने हुटहुटी बढेर आयो ।
दैवले ‘तँ आँट, म पुर्याउँछु ।’ भन्छन् रे । मलाई पनि त्यस्तै भयो ।
कक्षा १० मा पढ्दा साथीसँग गैँडाकोटको विजय एफएम घुम्न गएँ । यो ४ वर्षअघि अर्थात २०७३ सालको कुरा । मलाई रेडियोमा काम गर्ने इच्छा यति थियो कि, कुनै दिन मौका पाउँला नि भनेर त्यहाँको नम्बर लिएर आएँ ।
रेडियोले तालिम खुलायो । रेडियोमा बोल्ने पुरानो हुट्हुटीले तालिममा सक्रियतापूर्वक भाग लिएँ । तालिम सकिएको १५ दिनपछि कामको अवसर आयो ।
उमेर बल्ल १६ वर्ष तर मैले साँच्चै रेडियोमा बोल्न पाएँ ।
रेडियोमा मान्छे बोल्ने छुट्टै कोठा हुँदोरहेछ । त्यहाँ राखिएको माइक्रोफोन, स्कूल-कलेजका कार्यक्रममा हुने माइकभन्दा फरक, कोठा पनि अर्कै ।
यी र यस्तै केही नयाँ अनुभवसहित काम सुरु भयो ।
म फिल्डमै पुगेर समाचार सङ्कलन गर्न थालेँ । औपचारिक कार्यक्रम मात्र होइन, विस्तारै रेडियो रिपोर्ट र खोजी समाचारमा ध्यान दिन थालेँ ।
बिस्तारै रिपोर्टिङ गर्न र रिपोर्ट बनाउन सिकेँ । एक वर्षका लागि मैले गैँडाकोट ३ को रिपोर्टिङ गर्ने अवसर मिल्यो ।
जसले सिक्ने कुरामा थप अवसर दियो । एक वर्षको रिपोर्टिङ राम्रो गरेको भन्दै मलाई रेडियोले ‘उत्कृष्ट रिपोर्टर’ भनेर सम्मान गर्यो । अनि त म सिक्दै गरेको मान्छेलाई झन् हौसला मिल्यो ।
सामुदायिक रेडियोमा रिपोर्ट बनाउने भएकै कारण म सामुदायिक सूचना नेटवर्क (सिआईएन) सँग जोडिन पुगेँ । एक दिन अफिसमा कुरा हुँदै जाँदा मलाई एकजना सरले ‘हजुरको रिपोर्ट राम्रो छ । सीआईएनमा पठाउनु , त्यहाँ पनि बज्छ । राम्रो हुन्छ ।’ भन्नुभयो ।
मलाई अच्चम लाग्यो यो सीआईएन भनेको के हो ? कसरी पठाउने ? मलाई सरले सबै बुझाइदिनुभयो । पहिलो रिपोर्ट आफैँले पठाइदिनुभयो । रिपोर्ट पठाएको केही दिनमा मलाई सीआईएनबाट फोन आयो ।
मैले पठाएको रिपोर्ट केही सम्पादन भएर आउने रहेछ । मैले त्यसलाई पढेर फाइनल गरेर पठाउन पर्ने रहेछ ।
पहिलो पटक सीआईएनमा मेरो रिपोर्ट गैँडाकोट ३ मा खरको छानो विस्थापित गर्ने बारेको थियो । त्यो रिपोर्ट बज्दा म साँच्चै खुसी भएँ । मेरो रिपोर्ट देशभरको रेडियोमा बज्यो । सबैले सुनेभन्दा भित्रभित्र उफ्रिएँ । झण्डै १० पटक सुनेँ आफ्नै रिपोर्ट ।
त्यसपछि सुरु भयो सीआईएनसगँको मेरो यात्रा । मैले बनाएका सबै रिपोर्ट पठाउन थालेँ । केही रिपोर्ट छिट्टै फिर्ता हुथ्यो । केही अल्लि धेरै समयपछि फिर्ता हुथ्यो अनी केहीचाहिँ फिर्ता हुँदैन थियो ।
रिपोर्ट पठाएपछि कहिले फिर्ता आउला वा आउँछ कि आउँदैन ? मनमा खुव खुल्दुली हुन्थ्यो । आउँदा खुसी हुन्थ्यो । केही कुरा थपेर पठाउन पर्ने हुन्थ्यो ।
मलाई त सीआईएन भनेकै नयाँ पुस्ता जन्माउने थलो जस्तो लाग्न थाल्यो । जसले नयाँलाई सिकाउँछ, अवसर दिन्छ । काम गर्न प्रेरणा दिन्छ । रिपोर्टिङ गर्ने तरिका मात्र होइन समाजमा कसरी भिज्नेसम्म सिकाउँछ ।
मैले सीआईएनबाट धेरै कुरा सिकेको छु । रिपोर्टिङका अनेक तरिका हुन्छन्, अनेक तरिकाले रिपोर्टिङ गर्न सकिन्छ भन्ने जानेको छु । मलाई सीआईएनमा काम गर्ने सबै अग्रज साँच्चै गज्जबको लाग्छ ।
कस्तो मीठो बोल्ने । कति बुझ्ने तरिकाले सिकाउने । म सीआईएनसगँ जोडिएको ४ वर्ष पूरा भएको छ । मेरो राम्रो कुरामा अझैँ राम्रो गर्नु, यस्ता कुरा अझैँ सुधार गर्नु भन्दै आउने फोनले मलाई साँच्चै अगाडि बढ्न हौसाएको छ ।
सुधार्ने मौका दिएको छ । केही कुरा सुधार गर्ने मौका पाएको छु । यो कुरा सुधार गर्नुपर्छ भन्ने थाहा पाएको छु । यसको लागि म सीआईएनप्रति साँच्चै कृतज्ञ छु ।
आजभन्दा एक वर्ष अगाडि मलाई जब सीआईएनले देशभरबाट उत्कृष्ट संवाददाता भनेर सम्मान गर्यो ।
यसले ममा छुट्टै ऊर्जा थपेको छ । यति मात्र होइन, तिमी त उत्कृष्ट संवाददाता भएको होइन ? भन्दै मान्छेहरूले चिन्न थालेका छन् । मलाई हेर्ने दृष्टिकोण साँच्चै फरक भएको छ ।
उ राम्रो रिपोर्टिङ गर्छे । सीआईएनले पनि सम्मान गरेको भन्दै गफ गरेको सुन्दा खुसी लाग्छ ।
‘तिम्रो रिपोर्ट सीआईएनमा सुनेको थिएँ ।’ भन्दा मनमनै फुरुङग पर्छु ।
मलाई एउटा असल पत्रकार कसरी बन्ने ? कसरी राम्रो रिपोर्टिङ गर्ने जस्ता धेरै कुरा सिकाएको छ । मलाई मभित्रको खुबी चिनाएको छ ।
रिडियोमा पनि सम्भावना छ, गर्ने हो भने यसबाट पनि राम्रो गर्न सकिन्छ भन्ने कुरा सिकाएको छ । मलाई म बन्न सिकाएको छ ।
सीआईएन हामी जस्तो सिक्दै गरेका पत्रकारका लागि अभिभावक हो । हाम्रो लागि प्रेरणा हो । उत्साह जगाउने थलो हो ।
सामुदायिक रेडियोको साझा सङ्गठन मात्र होइन, हामी जस्ता पत्रकारको समस्या र गुनासो पनि बुझने, काम गर्न सिकाउने । मलाई लाग्छ सीआईएनबाट अन्य सञ्चारमाध्यमले धेरै कुरा सिक्न जरुरी छ ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९, १७:००