सञ्चार क्षेत्रमा मोफसलको राजधानी मानिने रुपन्देहीमा धेरै सञ्चार गृह स्थापित र सञ्चालित थिए ।
सङ्ख्यात्मक रूपमा सञ्चारगृह धेरै भए पनि महिला सहभागिता निकै न्यून थियो ।
महिलालाई विशेषगरी साङ्गितिक कार्यक्रम, समाचार वाचन र बजार प्रतिनिधिको रूपमा प्रयोग गरिने प्रचलन थियो । जिम्मेवारी पदमा खासै महिलाको प्रतिनिधित्व थिएन ।
स्थानीय रेडियोबाट महिला र बालबलिकासम्बन्धी कार्यक्रम दिवसीय रूपमा सुन्ने गरिन्थ्यो ।
प्रविधिको विकाससँगै सञ्चारमा महिलाको पहुँच र सहभागिताको आवश्यकतालाई महसुस गरेर रुपन्देहीका गृहणी, श्रमजीवि र सामाजिक अभियन्ता महिलाहरूको अगुवाइमा सामुदायिक रेडियो मुक्ति बुटवलको स्थापना भएको हो ।
सञ्चार मन्त्रालयबाट २०६५ जेठ २ गते इजाजतपत्र र लाइसेन्स प्राप्त गरी २०६५ आश्विन १७ गतेका दिन परीक्षण प्रसारणबाट आवाजविहीन महिलाहरूको आवाज पहिलोपटक गुञ्जिएको थियो ।
महिलाहरूलाई नपत्याउने हाम्रो समाजमा रेडियो सञ्चालन, त्यो पनि महिलाहरूको मात्र लगानी र व्यवस्थापनमा भन्दा समुदायमा अविश्वास खडा भएको थियो ।
एकातर्फ महिलाहरूले नमूनायोग्य कार्य गरे भन्ने समर्थकहरूको साथमा जोश एवं उम¨का साथ रेडियोबाट हामीले हानिकारक मूल्यमान्यता, कुरीति, भेदभाव, विकृति, महिला र बालबालिकामाथि हुने सबै प्रकारका हिंसाबिरुद्ध खोजमूलक विषय सामग्रीसहितको सन्देशमूलक कार्यक्रम, सूचना र समाचार प्रसारण गरिरहेका थियौँ ।
अर्कोतर्फको एक समूहले रेडियो बज्न त बज्यो कति दिनसम्म बज्ने हो भनेर खिसी गरिरहेको थियो ।
कार्यालय सहयोगीदेखि प्रमुखसम्म महिला कर्मचारी राख्ने हाम्रो उद्धेश्य थियो ।
रेडियो प्राविधिकमा महिला भेटाउनै गाह्रो, समाचार सम्पादन गरेको अनुभवी महिला पनि स्थानीयस्तरमा नभेटिएको अवस्था, वजार व्यवस्थापनलगायत अनेकौँ चुनौतीहरू हामीमाझ थिए ।
चुनौतीका बावजुद लैङ्गिक हिंसा न्यूनिकरण, महिला सशक्तिकरण र लैंगिक समानता कायम गर्ने अभियानलाई हामीले निरन्तरता दिँदै २०६५ पुस ९ गते नियमित प्रसारणमा जान सफल भयौँ ।
२०६५ सालदेखि हालसम्म पनि यस रेडियोले लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक रेडियो कार्यक्रम हाम्रो अभियानमार्फत महिला, बालबालिका, सीमान्तकृत, पछाडि पारिएको समुदाय, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, अपा¨ता भएका व्यक्ति, दलित, मुस्लिम, मधेसीलगायत आवाज विहीन समुदायको आवाज बुलन्द गरी समतामूलक समाज निर्माणमा हाम्रो प्रयास निरन्तर जारी छ ।
महिलाहरूले मात्र सञ्चालन गरेको सामुदायिक रेडियो मुक्ति लुम्बिनी प्रदेशकै, पहिलो र एक मात्र हो ।
रेडियो कार्यक्रमको प्रभाव
रुपन्देहीको सैनामैना नगरपालिका पर्रोहा बस्ने धनवन्तरी देवी चौधरी हिजोआज निजी व्यवसाय सञ्चालन गर्दै सामाजिक सङ्घसंस्थामा आबद्ध हुनु भएको छ ।
पहिले घरमै बस्ने, बाहिर त्यति धेरै ननिस्कने उहाँ घरमा बस्दा रेडियो मुक्ति सुन्नुहुन्छ ।
रेडियोबाट प्रसारण हुने ‘हाम्रो अभियान’ कार्यक्रममा एकजना व्यवसायी महिलाको सफलताको कथा सुनिसकेपछि धनवन्तरीलाई म पनि केही गर्छु भन्ने भएर हाल घर नजिकै चौधरी फ्रेस हाउस सञ्चालन गर्नुभएको छ ।
कोरोना भाइरसको सङ्क्रमण यसको न्यूनिकरणका लागि नेपाल सरकारले गरेको बन्दाबन्दीमा दिनभर वा दैनिक श्रम गरेर जीविका चलाउनेहरूको घरमा चुलो नबलेको अवस्था थियो ।
स्थानीय सरकारले वडावडामा विपन्न नागरिकका लागि राहतको व्यवस्था गरेका थिए । तर त्यही समुदायमा बस्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक राहतबाट वञ्चित थिए ।
मनोरञ्जन क्षेत्रमा कार्यरत उनीहरूको रोजगारी लक डाउनले पूणर् बन्द थियो । सोही बेला कोरोना विशेष कार्यक्रममार्फत उनीहरूलाई परेको समस्या स्थानीय सरकार र व्यवसायीमाझ पुगेपछि तत्काल राहत पाएका थिए ।
रुपन्देहीको दक्षिणी भेगका किशोरीहरू शिक्षा, स्वास्थ्यको पहँुचबाट बाहिर, बालविवाह, बालश्रम, बेचबिखनको जोखिममा रहेको अवस्थामा रेडियो मुक्तिले कार्यक्रम ‘किशोरी आवाज’ मार्फत ती किशोरी र अभिभावकका आवाजहरू सरोकावालामाझ पुर्याएको थियो ।
सोही कार्यक्रमको प्रभावले स्थानीय सरकार र विभिन्न सामाजिक संस्थाको सहयोगमा किशोरीहरू अहिले स्वयम सङ्गठित भइ बालविवाह न्यूनिकरणलगायत आफूमाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरी किशोरी सशक्तिकरणको अभियानमा सक्रिय भएका छन् ।
हिजो उनीहरूका कुरा हामी खोज्न जानुपर्थ्यो ।
आज किशोरीहरू स्वयं आफूले गरेका राम्रा कुरा सुनाउन रेडियो स्टेशनमा आउने गरेका छन् ।
भर्खर मात्र सम्पन्न २०७९ को स्थानीय तहको निर्वाचनमा उम्मेदवार महिलाहरूसँग रेडियो कार्यक्रममा कुरा गर्दा रेडियो स्टेशनसम्म आएर वा सञ्चार माध्यममा आफूहरू पहिलो पटक बोल्ने अवसर पाएको बताएका छन् ।
रेडियोमा बोल्दा जनप्रतिनिधि भएर पनि बोल्न र नेतृत्व लिन सक्ने आत्मविश्वास जागेको बुटवल ८ वडा सदस्य पदकी उम्मेदवार सीता खनालले बताउनुभयो ।
उपलब्धि तथा अवसर
निरन्तर रूपमा महिला अधिकार, महिलाको शिक्षा, स्वास्थ्य, रोजगार, प्रजनन अधिकार, मानसिक स्वास्थ्य, लैङ्गिक समानता, समावेशी सहभागिता, सामाजिक न्याय लयागतका विषयलाई प्राथमिकतामा राखी रेडियो कार्यक्रममार्फत सन्देश प्रवाह गरिरहेका छौँ ।
जसले गर्दा लुम्बिनी प्रदेशमा सामाजिक संस्था र कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलालयको सहकार्यमा बालविवाह अन्त्य सम्बन्धी रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गरेको छ । यस्तै प्रदेशमा लैङ्गिक समानता नीतिको मस्यौदा तयार भइरहेको छ ।
बुटवल उप-महानगरपालिकाले लैङ्गिक हिंसा मुक्त सहर बनाउने नीति निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) सेवा व्यवस्थित रूपमा सञ्चालनमा आएको छ ।
समुदाय, सडक र सदनसम्मका महिलाहरूको आवाज बुलन्द गर्दै जाँदा महिलाहरू नेतृत्वमा आउन इच्छुक र नीति तथा कार्यक्रम निमाणर्मा सहयोग पुगेको छ ।
महिलाहरू आत्मनिर्भर बनेका छन् । यस्तै महिला पत्रकार, रेडियो प्राविधिकहरूको सङ्ख्यात्मक तथा गुणात्मक वृद्धि भएको छ ।
१४ वर्षको अभियानमा महिलाहरूले मात्र सञ्चार संस्था सबल र सक्षम रूपमा सञ्चालन गर्न सक्दछन् भन्ने सन्देश समुदायमा जानु नै हाम्रा लागि उपलब्धि हो ।
स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग सहकार्य गरेर विशेष महिला आयोग, महिला मन्त्रालय, कानून मन्त्रालय, स्थानिय तहका सामाजिक विकास महाशाखा, शाखाहरु र सामाजिक संस्थाहसँग सहकार्य गरेर काम गर्न पाउनु हाम्रो अवसर हो ।
पत्रपत्रिका, अनलाइन, टिभी लगायत मल्टिमिडियाको जमानामा रेडियो सुन्ने स्रोता घटे भन्ने गरिन्छ तर अझैँ पनि सहज रूपमा सबैको पहुँचमा पुग्ने सूचाको स्रोत सामुदायिक रेडियो नै हो ।
यसर्थ नेपालमा महिला, जनजाति, थारु दलितलगायतका विषयगत मुद्दाहरू बोकेका सामुदायिक रेडियोहरूले समुदायका लागि विशेष योगदान गरेका छन् ।
सरकारले नागरिकका लागि गर्नुपर्ने काम समग्र सामुदायिक रेडियोसँगै विषयगत रेडियोहरूले गरिरहेको बेला उक्त रेडियोको संरक्षण तथा प्रवद्र्धन पनि तीनै तहको सरकारले गर्नुपर्ने देखिन्छ ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९, १९:१२