बिहान होस् कि साँझ । दिन होस् कि रात । हर मौसम, हर समय ।
खैरो रङ्गको रेडियो झुन्डिरहन्थ्यो दलिनमा । जसमा थियो हजुरबुवाको एकाधिकार । उहाँले खोले सुन्न पाइने, बन्द गरेपछि आफैँ खोल्न नसकिने ।
मैले थाहा पाएदेखि वर्षौँसम्म उस्तै रह्यो त्यो रेडियो ।
अनि उस्तै रह्यो रेडियोमाथि हजुरबुवाको एकाधिकार । जसले सुनाउँथ्यो गाउँसहरका खबर । देशबिदेशका समाचार ।
राजनीति, घामपानी, गीतसङ्गीत, बालबालिका, युवा, पर्यटन लगायत सबै, सबैका कुराहरू ।
जुन रेडियो थियो, हजुरबुवाका लागि ठूलो बुवाले दिएको उपहार । भारत गएर पहिलो पटक घर फर्किँदा हजुरबुवालाई सम्झनास्वरुप ल्याइदिनुभएको ।
हजुरबुवालाई सुन्नुपर्ने समाचार । मलाइ मन पर्ने गीत ।
बालबालिकाका कार्यक्रममा पनि रुचि थियो । कार्यक्रमको चाहना नमिल्दा कैयौँपटक हजुरबुवासँग रिसाएको छु । घुर्क्याएको छु । कहिलेकसो मन पर्ने कार्यक्रम सुन्न पाएँ ।
तर धेरै पटक आफैँसँग सम्झौता गरेको छु । अनि उहाँले नै सुनेका कार्यक्रमहरू सुनेरै बसेँ ।
संयोग नै भयो, हजुरबुवाको आवाज र त्यो रेडियो एकैदिन बन्द भयो ।
झट्ट सुन्दा कथा जस्तो लाग्छ, नबजे पनि सम्झनास्वरुप त्यही दलिनमा झुण्ड्याएर राखिएको रेडियो केही वर्ष पहिले चट्याङबाट क्षतविक्षत भयो ।
अवशेष अझैँ पनि सम्झनास्वरुप घरको कुनै कुनामा छन् ।
हजुरबुवाका अरु धेरै चिनारीहरू अब सम्झनामा पनि आउँदैनन् । तर जुन रेडियोले मलाई रेडियोकर्मीको बाटो देखायो त्यो सायदै कहिल्यै स्मृतिबाट मेटिनेछ ।
बिहान उठेदखि ननिदाउने बेलासम्म घरमा एकै मात्रामा रेडियो बजिरहेको हुन्थ्यो । त्यसताका अहिलेजस्तो एफएमहरू खुलिसकेका थिएनन् ।
रेडियो नेपालको एकछत्र राज थियो । दिउँसो अङ्ग्रेजी लगायत अन्य भाषाका समाचार बज्दा रेडियो बन्द गर्नुहुन्थ्यो हजुरबुवाले ।
बाल कार्यक्रमजस्ता आफ्ना रुचिका कार्यक्रम सुन्न हजुरबुबाको अनुमति चाहिन्थ्यो ।
साँझ बज्ने घटना र विचारमा हजुरबुबाको चासो सबैभन्दा बढी । त्यो ताका देशमा सशस्त्र सङ्घर्ष चलेको थियो । घटना र विचारमा आउथे तिनै समाचारहरू ।
हजुरवुवा खुब चाख दिएर सुन्नुहुन्थ्यो । उहाँको साथ लागेर म पनि सुन्थेँ । बुझे पनि नबुझे पनि । सशस्त्र सङ्घर्षका खबरहरू सुनेका ती क्षण अझै पनि मनसपटलमा ताजा छन् ।
समयसँगै एफएम रेडियोहरूको विकास हुँदै गयो । बागलुङमा पनि पहिलो पटक एफएम सञ्चालन भयो । पश्चिमी लोक दोहोरीलाई प्राथमिकता दिएर कार्यक्रमहरू सञ्चालन हुन थाले ।
जसमा स्रोताहरूको रुचि रेडियो नेपालमाभन्दा बढी थियो । रेडियो नेपाल र रेडियो नेपालका कार्यक्रमको विकल्प बढ्दै गयो ।
एफएममा लोदोहोरीका कार्यक्रम सुन्ने सयौ स्रोताहरूमध्ये एक म पनि थिएँ ।
तथ्यगत समाचार र सबै जातजाति, भाषाभाषीको प्रतिनिधित्व हुने रेडियो नेपालप्रति हजुरबुवाको लगाव जीवनपर्यन्त पनि कुनै एफएमले विस्थापन गर्न भने सकेन ।
घरमा रहेको एकमात्र रेडियोबाट लोकदोहोरीका कार्यक्रम सुन्न चाहने म । सङ्गीत मन नपराउने मेरा हजुरबुवा ।
मिटर ब्याण्ड घुमाएकै निहुमा धेरै पटक विवाद हुन्थे । तर कार्यक्रम सुनेपछि फेरि पुरानै ब्याण्डमा लगाएर छोड्ने सहमतिमा भने हजुरबुबा हार्नुहुन्थ्यो मेरा लागि ।
साताको एक दिन, एउटा कार्यक्रममा सीमित म रेडियोको कमाइले कोठामा बिजुलीको बिलसम्म तिर्न नसक्ने अवस्थामा थिएँ । बाध्यताले सिनर्जी एफएमसँगको यात्रा रोक्नुपर्ने भयो ।
हुन त कैयौँ पटक म पनि हारेको छु हजुरबुवाको लागि ।
धवलागिरी एफएमका सञ्चारकर्मी कृष्ण जिसी र रामु शर्माको आवाज सुनिरहने म त्यही रेडियोभित्र पसेर उनीहरूसँगै बोलेको कल्पना गर्थेँ ।
घाँस काट्न जाँदा, गोरु बाख्रा चराउन जाँदा होस या विद्यालयमा । उनीहरूकै आवाजको नक्कल गर्थेँ ।
निरन्तर रेडियो सुन्ने बानीले मभित्र पनि बोल्ने कलाको विकास हुँदै गएछ । पत्तै नपाइकन ।
त्यही कलाका कारण विद्यालयमा हरेक शुक्रबार हुने कार्यक्रममा म सञ्चालकको भूमिकामा रहन पाएँ, सानै उमेरदेखी । जुन मेरा लागि अझ निखारिने अवसर पनि ।
तर स्टुडियोमा बसेर देशलाई आवाज सुनाउने भोक सीमित विद्यालयका कार्यक्रमले मेटिने कुरै थिएन । त्यसैले एसएलसी दिएलगत्तै म उच्च शिक्षाका लागि मकवानपुरको हेटौँडा जाने निणर्य गरेँ ।
हेटौँडामा अध्ययनकै क्रममा पहिलो पटक सात दिने उद्घोषण तालिम लिएँ र सुरु गरेँ रेडियोकर्मीको औपचारिक यात्रा ।
हेटौँडामै रहेको 'रिसु मिडिया'मा उद्घोषणका थप कक्षाहरु लिएपछि अब कुनै रेडियोमा आबद्ध नभै रहनै नसक्ने छटपटी बढ्यो ।
कक्षा १२ को परीक्षा पछि रेडियोमा काम खोज्दै कहिले मकवानपुरबाट चितवन र कहिले चितवनबाट बारा दौडिएँ ।
मलाई कमाउनेभन्दा बढी चाहना थियो रेडियोमा बोल्ने ।
अन्तर्वार्ताको क्रममा चितवनको सिनर्जी एफएमका तत्कालीन स्टेसन म्यानेजर अमर प्रधानलाई मैले भनेको थिएँ, ‘मलाई तपाईँको रेडियोमा बोल्न मात्रै दिनुस्, एक महिनामा मभित्र केही छैन जस्तो लाग्यो भने म आफूले लिएको समयको पैसा तिरेर निस्कने छु ।’
सायद मेरो यही भोक देखेरै उहाँले रेडियोमा खाली पद नभए पनि मलाई अतिरिक्त समयमा एउटा कार्यक्रम सञ्चालनको अवसर दिनुभयो ।
मभित्रको रेडियो मोहप्रति मेरो परिवारका कोही सदस्य सन्तुष्ट हुनुहुन्नथ्यो । सानैदेखि पढाइमा उत्कृष्ट भएकाले पनि होला मलाई अरु नै केही बनाउने उहाँहरूको चाहाना थियो, तर के थियो, आजसम्म कसैले व्यक्त गर्नुभएको छैन ।
आफ्ना सन्तान ठूलो मान्छे बनुन् भन्ने चाहना सबैमा हुन्छ । तर सन्तान उनीहरूकै रुचिको विषयमा पनि ठूलो बन्न सक्छन् भन्ने विश्वास कमै अभिभावकले गर्छन् ।
दलिनमा झुन्डिएको रेडियो सुन्नै सङ्घर्ष गर्नुपर्ने म आज देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनमा छु र सुनाउँछु देश दुनियालाई देश दुनियाकै खबर ।
जसले विश्वास गर्छन्, उनीहरू संसारका सबैभन्दा उत्कृष्ट अभिभावक हुन् ।
म मेरो यात्रामा नितान्त एक्लै दौडिरहेँ । शोखले थालेको यात्रामा भोकको दवाव थपिँदै गयो ।
साताको एक दिन, एउटा कार्यक्रममा सीमित म रेडियोको कमाइले कोठामा बिजुलीको बिलसम्म तिर्न नसक्ने अवस्थामा थिएँ । बाध्यताले सिनर्जी एफएमसँगको यात्रा रोक्नुपर्ने भयो ।
‘कम्तिमा खान पुग्ने पेशा भए मान्छे बनेर निस्किन हुन्थ्यो । बाँकी धन त मान्छे बनेपछि कमाइहालिन्छ ।’
आफ्नो मनसँगै यही विषयमा धेरै अन्तरसंवाद गरियो । मलाई म बाहेक सबैले बिग्रियो भनिरहेका थिए । त्यसैले पनि मलाई रेडियोकर्मी बन्नु, बिग्रिनु होइन भन्ने प्रमाणित गर्नुपर्ने चुनौती थियो ।
त्यसकै लागि म चितवनबाट बारा हुइँकिएँ ।
बाराको रेडियो आकासवाणिबाट सुरु भएको नयाँ यात्रामा जीवनको लक्ष्य खोज्नु थियो ।
रेडियो यात्रा सुरु गरेको झण्डै तीन वर्षपछि जोडिएँ बाराकै सिमरास्थित रेडियो नागरिकमा । जहाँबाट सीआईएनसँगको मेरो सम्बन्ध स्थापित भयो ।
रेडियोमा सामान्य प्राविधिक र खाली समयमा कार्यक्रम सञ्चालकको काम गरिरहेको म समाचार पढ्ने दाजुहरूबाट निकै प्रभावित थिएँ । `
`जेनतेन समाचार कोर्ने बानी थियो । तर निखारत थिएन । मेरो रहरलाई निखारता दिन सीआईएन सहयात्री बन्यो ।
सहयोग गर्यो ।
एक दिन रिपोर्टिङका लागि सिमराबाट अमलेखगञ्जका लागि निस्किएको थिएँ ।
नेपालमा पहिलो पटक पाईपबाट ईन्धन भित्रिने दिन भएकाले देशव्यापी चासोको विषय थियो । सीआईएनबाट त्यही कार्यक्रमको एउटा रिपोर्ट बनाएर पठाउन आग्रह आयो ।
म जेनतेन समाचार कोर्ने मान्छे । रिपोर्ट बनाउने कसरी हो ? अनभिज्ञ थिएँ ।
लाखौँ स्रोताहरूलाई सत्य, तथ्य, निस्पक्ष अनि समुदाय केन्द्रीत सवाल र समाचार सुनाउने । रेडियो सुन्दै हुर्केको र सुनाउने ठाउँसम्म आइपुगेको म अझैँ पनि एक जिम्मेवार पत्रकार बन्ने यात्रामा नै रहेको छु ।
रिपोर्टका लागि आग्रह गर्नुभएका लिलप्रकाश सरले निकै सजिलो गरी सम्झाउँदै भन्नुभयो, ‘तपाईँ जे जान्नुहुन्छ त्यही लेखेर पठाइदिनुभयो भने बाँकी सहयोगका लागि हामी छँदैछौँ । सुरुमा कसैले जानेको हुँदैन, सजिलो छ तपाईँ सिक्नुहुन्छ ।’
समाचारको सामान्य टिपोट पठाएको थिएँ । सीआईएनले रिपोर्ट बनाएर इमेल गरेछ । त्यही रेकर्ड गरेर पठाउने अनुरोधसहित । जुन मेरा लागि पत्रकारिताको घुम्ती (टर्निङ प्वइन्ट) बन्यो ।
पहिलो पटक देशका झण्डै साढे तीन सय रेडियोबाट एकैपटक रिपोर्ट बज्यो । जुन हर्षको मापन गरेर नसकिने रहेछ ।
त्यसपछि हो, साँचो अर्थमा समुदायका दुःख, सुख खोज्दै र खोतल्दै पत्रकारिता सुरू गरेको मैले।
मधेसका दुःखदेखि संस्कार र संस्कृतिसम्मको रिर्पोटिङ गरेको ।
समतल तराईका बस्तीमा रहेका दुःखका अग्ला पहाडहरू देखेको । बस्तीको कथा खोज्दै टाढाटाढा गाउँसम्म पुगेको ।
आवाजविहीनहरूको आवाज बन्ने कोसिस गरेको । अनि पत्रकारितालाई दीर्घकालीन रूपमा पेशा बनाउने अठोट गरेको ।
टिपोटबाट रिपोर्ट बनाउन सिकाउन सीआईएनले मलाइ धेरै सघाएको छ ।
दलिनमा झुन्डिएको रेडियो सुन्नै सङ्घर्ष गर्नुपर्ने म आज देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनमा छु र सुनाउँछु देश दुनियालाई देश दुनियाकै खबर ।
ममा रेडियोप्रतिको लगाब त्यतिबेलाभन्दा पनि झन् बढेको छ, जति बेला म रेडियो सुन्नकै लागि सङ्घर्षरत थिएँ ।
लगाब मात्रै होइन, अहिले जिम्मेवारी पनि बढेको छ ।
लाखौँ स्रोताहरूलाई सत्य, तथ्य, निस्पक्ष अनि समुदाय केन्द्रीत सवाल र समाचार सुनाउने ।
रेडियो सुन्दै हुर्केको र सुनाउने ठाउँसम्म आइपुगेको म अझैँ पनि एक जिम्मेवार पत्रकार बन्ने यात्रामा नै रहेको छु ।
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९, ०६:४९