मेरो बाल्यकाल रौतहटको चन्दनिगाहपुरमा बित्यो ।
सानैदेखि पढाइलेखाइमा राम्रो भएका कारण घरपरिवारमा मात्रै होइन, विद्यालय, छरछिमेककाले पनि राम्रो नजरले हेरेको सुन्थेँ र अनुभूत गर्थेँ ।
एउटी बालिकालाई स्याहारसुसार गर्दै स्कूले बनाउनु, अझ त्यसमा पनि राम्रो पढ्नलेख्न सिकाउनुमा अभिभावकको ठूलो भूमिका हुन्छ ।
उनीहरूको मार्गदर्शन र प्रेमले नै अवोध मनमष्तिस्क परिपक्व हुँदै जाने रहेछ ।
चन्द्रनिगाहपुरको श्री जनशक्ति माद्यामीक.विद्यालयमा ९ कक्षामा अध्ययन गर्दैगर्दा मलाई थाहा भयो कि मेरो जन्मघर त त्यहाँ हैन रहेछ ।
म जहाँ हुर्किएँ, मलाई जसले बाआमा वा त्योभन्दा धेरै मायास्नेह दिनुभयो, उहाँहरू वास्तवमा मेरो ठूलोबुवा र ठूली आमा हुनुहुँदो रहेछ ।
यो कुरा थाहा नपाउँदा म जति खुसी थिएँ, उति नै धेरै दुख, असहृ पीडा महसुस गरेँ ।
मेरो जन्म घर त काभ्रेको महाभारतमा रहेछ ।
जन्मेको २ महिनामा आमाले छोडेर जानुभएपछि उहाँको अभाव महसुस हुन नदिन ठूलो बुवाको घरमा लगियो । तर जब मैले त्यो कुरा थाहा पाएँ, एसएलसीपछि आफ्नै जन्म थलो फर्किएँ शिक्षिका बनेर ।
काठमाडौँबाट करिब ७५ किलो मिटर टाढा छ, काभ्रे जिल्लाको विकट गाउँ माहाभारत । त्यहाँ भूगोल छ, बस्ती छ तर मानिसहरू भविष्य नदेखेर जिल्लाभित्रै र बाहिर पलायन हुनेक्रम रोकिएको छैन । यो अहिलेको कुरा ।
उहिले कस्तो थियो होला, करिब २५/२६ वर्षअघि यही गाउँमा म जन्मिएको थिएँ ।
बालबालिकाको पढाइ निकै दयनीय । थोरै पारिश्रमिकमा करिब ४ वर्ष अध्यापन गरेँ तर गाउँघरबाट सबैको माया, हौसला यति धेरै पाएको थिएँ कि जागिर छोड्ने निणर्य लिँदा पनि मन भारी भएको थियो ।
रेडियोमा एउटा ल्याटप र पहिलो पटक देखेको मिक्चर बाहेक अरु केही थिएन । करिब २० मिनेटको अभ्यासपछि गीत बजाउन सिकेँ प्राविधिक मित्रका सहायताबाट ।
मेरो काम र लगनशिलताको मूल्याङ्कन गरी विद्यालयले सम्मानसहित पुरस्कार पनि प्रदान गरेको थियो । त्यसपछि म काभ्रेको धुलिखेलमा रहेको गैर सरकारी संस्था नाङशाल एसोसियसन नेपालमा काम गर्न थालेँ ।
बालबालिकाको क्षेत्रमा काम गर्न थालेको करिब ३ वर्षपछि विद्यार्थी भिसामा जापान जाने कोसिस गर्दै थिएँ तर नाङशाल एसोसियसन नेपालकै गुणराज मोक्तान,छवि चौलागाईँ लगायत अन्य सरहरूले रेडियोमा काम गर्न अनुरोध गर्नुभयो ।
न रहर न ज्ञान । त्यसअघि कहिल्यै पनि रेडियो ध्यान दिएर सुनेकै थिइन भन्दा पनि हुन्छ ।
तर एक हप्ता मात्रै भए पनि रेडियोमा बस्न अनुरोध गरेपछि मैले दस दिन त हो नि π भनेर स्वीकार गरेँ ।
जीवनमा पहिलो पटक रेडियो बजाउनुपर्ने भयो ।
रेडियोमा एउटा ल्याटप र पहिलो पटक देखेको मिक्चर बाहेक अरु केही थिएन । करिब २० मिनेटको अभ्यासपछि गीत बजाउन सिकेँ प्राविधिक मित्रका सहायताबाट ।
प्राविधिक मित्र चित्र तामाङ मलाई रेडियोमा छोडेर बनेपा फर्कनु भयो ।
म भने नमोबुद्ध ७ भकुण्डेमा रहेको रेडियो रोशी एक्लै बजाउन थालेँ ।
रोशी गाउँपालिकाको आर्थिक सहयोग र नाङशाल एसोसियसन नेपालबाट सञ्चालित रेडियो करिब १ महिनापछि २०७५ साल वैशाख १ बाट औपचारिक रूपमा सञ्चालनमा आयो ।
यहीँबाट सुरु भयो मेरो रेडियोको यात्रा ।
रेर्कड भएका कार्यक्रम सम्पादन, मिक्सिङ गर्नेदेखि विज्ञापन बनाउने र केही कार्यक्रम पनि आफैँले गर्नुपर्दथ्यो । भोक, प्यास, निन्द्रा नभनी १० बजेपछि पनि कार्यक्रम बनाउनु पर्ने स्थिति बन्थ्यो ।
सुरुवातको अवस्थामा कर्मचारीको सङख्या पर्याप्तै भए पनि रेडियोमा काम गरेका अनुभवी भने एकदुई जना मात्रै थिए ।
त्यसबेलामा रेडियोमा नयाँ हामी मात्र थिएनौँ, हाम्रा स्रोताहरू पनि नयाँ तर एकदम खुसी थिए । उनीहरूले आफ्नो जिल्लामा भएको रेडियो घरमै बसेर सुन्न पाएका थिए ।
सूचनालाई अझ प्रभावकारी बनाउन हामीले बालबालिकादेखि सांसदहरूको कुराकानी समेटिएका सबै खाले कार्यक्रम गरी दैनिक ९ ओटासम्म कार्यक्रम सञ्चालन गरेका थियौँ ।
हामीबाट उत्पादन भएका ६ ओटा समाचार, साझा खबर २ पटक, बीबीसी २ पटक गरी १० पटक समाचार प्रसारण हुन्थ्यो ।
यति धेरै कार्यक्रम हुँदा प्राविधिक कक्षमा बिहान ५ देखि राति १० बजेसम्म म एक्लै सक्रिय हुन्थेँ ।
रेर्कड भएका कार्यक्रम सम्पादन, मिक्सिङ गर्नेदेखि विज्ञापन बनाउने र केही कार्यक्रम पनि आफैँले गर्नुपर्दथ्यो । भोक, प्यास, निन्द्रा नभनी १० बजेपछि पनि कार्यक्रम बनाउनु पर्ने स्थिति बन्थ्यो ।
कहिलेकाहीँ त रातिको १ नै बज्थ्यो ।
फेरि हरेक दिन बिहान ५ बजे रेडियो प्रसारणका लागि उठ्नुपर्दा मुस्किल हुन्थ्यो ।
कहिलेकाहीँ दिक्क लागेर आउँथ्यो र पेशा नै परिर्वतन गर्न मन लाग्थ्यो ।
त्यसबेलामा घरपरिवार, आफन्त सबैबाट टाढा हुनुपर्दाको पीडा मात्र थिएन, चाडपर्वका बेलामा अरु साथीभाइहरू हाँसीखुसी घर जाँदा आफू मात्र रेडियोमा बस्नु प्राविधिक हुनुको दुर्भाग्य जस्तो लाग्थ्यो ।
रेडियो राम्रोसँग बज्दा त एक सुरले काम गर्ने बानी परिसकेको थियो तर जब रेडियो बिग्रन्थ्यो, त्यसपछि रेडियो स्टेसनदेखि कालिञ्चोकको टावरसम्मका असजिला कामहरूले अझैँ पनि हैरान बनाउँछन् ।
जसोतसो काम चलिरहेको थियो ।
साढे २ वर्ष अगाडि सामुदयिक सूचना नेटवर्क (सीआईएन) बाट मलाई फोन आयो । ‘रिर्पोट पठाउने गर्नुहोला । स्थानीय जनताले पनि अपनत्व महसुस गर्छन्, व्यक्तिगत रूपमा तपाईँलाई पनि फाइदा पुग्छ ।’
त्यसबेलामा मलाई भनियो । तर मलाई भने रिर्पोट बनाउने तौरतरिका थाहा थिएन ।
यसबारेमा जानकारी गराएपछि मलाई एउटा रिपोर्ट नमूनाको लागी पठाइएको थियो । त्यसैका आधारमा मैले पहिलो पटक हिंसामा परेका महिलाको बारेमा रेडियो रिपोर्ट बनाएँ र प्रसारण पनि भयो ।
आफ्नो रिपोर्ट बज्दा मलाई खुसी लाग्नु त स्वाभाविक नै थियो तर भकुण्डे लगायतका आसपाका नागरिकहरू पनि आफ्नो गाउँठाउँको आवाज सुन्न पाउँदा खुसी भए ।
मैले यसैगरी रिपोर्टिङलाई निरन्तरता दिँदै गएँ ।
गाउँघरमा देखिएका महिला, बालबालिका, असहाय, जेष्ठ नागरिक, दलित र लोपोन्मुख समुदाय तथा वर्गका नागरिकको बारेमा स्थलगत रूपमै गएर म आवाजहरू सङ्कलन गर्न थालेँ ।
यसबीचमा अपाङ्गता भएका धुलिखेल ११ का सुरेस धितालले मैले बनाएको अपाङ्गता भएकी एक किशोरीको बारेमा बनाएको रिर्पोट सुनेर फोन गरेर धन्यवाद दिनुभयो ।
सीआईएनमा हायु जातिको बारेमा तयार पारिएको रिर्पोट प्रसारण भएपछि पनि राम्रो प्रतिक्रिया पाएँ ।
कोरोना माहामारीको समयमा नर्सहरूको पीडा, घरेलु हिंसामा परेका महिलाको समस्या, बुवाआमा गुमाएका बालबालिकाको पीडा, विकट क्षेत्रमा सञ्चार नपुग्दा नागरिकले खेप्नु परेको समस्या, खानेपानीको चरम अभाव, वन्यजन्तुबाट पीडित किसानका कुरादेखि जनप्रतिनिधिको उदाहरणीय काम लगायत विषयमा थुप्रै रिपोर्ट बनाएँ ।
आफूले बनाएको रिपोर्टका कारण कसैले सुविधा वा न्याय पाउँदा पनि असाध्यै धेरै खुसी लाग्ने रहेछ ।
सीआईएनले उत्पादन गरेको कार्यक्रम रेडियो रोशीले प्रसारण गर्दा समुदायका व्यक्तिले सरकारबाट पाउने सेवासुविधा पाएका छन् ।
गाउँपालिकाले रोक्दै आएको वृद्ध भत्तावापतको रकम कार्यक्रम ‘जीवन रक्षा’ सुनेर रोशी ७ का हरिप्रसाद गौतमले उक्त रकम पाउन थाल्नुभयो ।
माहाभारत गाउँपालिकामा सञ्चार सुविधाबाट वञ्चित नागरिकको दुख र गाउँपालिकाको प्रतिबद्धता बारेको रिर्पोट प्रसारणपछि त्यहाँ नेपाल टेलिकमको टावर स्थापना गरिएको छ ।
अपाङ्गता भएकी काभ्रे मण्डनदेउपुरकी दीपिका भण्डारीले भोग्नु परेको समस्याका बारेमा सीआईएनमा रिपोर्ट प्रसारण भएपछि काठमाडौँका गोकणर् तिमल्सिनाको पहलमा एक संस्थाबाट ह्विलचियरको व्यवस्था गरिएको छ ।
काभ्रेको तेमाल गाउँपालिको दलित बस्तीमा घुँडा दुख्ने समस्याले पीडित महिलाहरूको बारेमा रिपोर्ट सीआईएनबाट प्रसारण भएपछि ३ सयभन्दा धेरैले सुविधा पाउनेगरी स्वास्थ्य शिविर सञ्चालन भयो ।
त्यस काममा महत्वपूर्ण भूमिका खेलेको भन्दै तेमाल गाउँपालिका वडा नम्बर ६ ले सम्मानित गर्दा पनि धेरै खुसी लागेको थियो ।
यस किसिमका उपलब्धिले विगतमा सहनुपरेका सबै दुख, पीडाहरू पनि भुलाइदिने रहेछन् ।
प्राविधिकबाट सुरु भएको मेरो रेडियोको यात्रा रेडियो पत्रकारितामा पुगेको छ । धेरै सिक्न बाँकी छ, धेरै गर्न बाँकी छ भन्ने महसुस हुन्छ हिजोआज । यतिसम्मको आत्मविश्वास र प्रेरणा जगाउका लागि सीआईएनको भूमिका बिर्सन नसकिने छ ।
रेडियोमा जस्तो भए पनि बोल्नुपर्छ भन्ने सुरुमा मान्ययता राख्ने मलाई शुद्ध बोल्नुपर्छ, रेडियोको बोली अरुले सिको गर्ने माध्यम हो भन्ने ज्ञान र सीप मैले बिस्तारै सिकिरहेको छु ।
यसका लागि सीआईएनमा कार्यरत सबै अग्रजहरूप्रति आभार व्यक्त गर्दछु । मैले गरेको कामको मूल्याङ्कन गर्दै सीआईएनले आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक रेडियो राष्ट्रिय पत्रकारिता पुरस्कारले सम्मान गरेको छ ।
आगामी दिनमा अझै धेरै सक्रिय र जिम्मेवार हुनुपर्छ भन्ने महसुस भइरहेको छ ।
दुख धेरै र सुखको थोरै अनुभूत गर्दै सुरु गरेको रेडियो यात्रा ४ वर्षको भयो । हिजोआज यही क्षेत्र प्यारो लाग्ने भएको छ ।
कहिलेकाहीँ बिदा बस्दा पनि रेडियोमा के भयो होला ? भन्ने लाग्छ । कुनै गाउँठाउँमा पुग्दा यो पनि समाचार हो र यो पनि रिपोर्टिङको विषय हो भन्ने हेक्का राख्ने भएको छु ।
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९, ०८:२९