उमेरले ३० वर्षमा हिँड्दैछु ।
करिब दस वर्ष सामुदायिक रेडियोमा रमाइरहँदा अनुभव बाँड्ने अवसर पाउँदा सदुपयोग गरौँ भन्ने लाग्दो रहेछ ।
बालापन, स्कूले जीवनमा रेडियो नेपालका कार्यक्रम सुनेकाले पनि रेडियोमा काम गर्ने सोँच आउँथ्यो ।
त्यो बेलामा बिहान ५ बजेबाट राति ११ बजेसम्म रेडियो नेपालमा बज्ने हरेक कार्यक्रमको तालिका कन्ठस्थ हुन्थ्यो ।
यसैगरी आफू रेडियोमा बोल्न खुब रुचि लाग्थ्यो ।
काठमाडौँमा पुगेर पत्रकारिता पढ्दै गर्दा रेडियोमा काम गर्ने, पत्रकार बन्ने रहर झन बढेर गयो । समयक्रमले कहिलेकाहीँ सानो बेलाका सोँच, चाहाना, सपना यतिकै पूरा हुँदा रहेछन् भन्ने लाग्छ अहिले ।
कक्षा १२ पढ्दै गर्दा काठमाडौँको सामुदायिक रेडियो, रेडियो उपत्यकामा ‘बाल संसार’ रेडियो कार्यक्रममा बोल्दा खुसीका सीमा रहेन।
रेडियो पत्रकारितामा छिर्दै गर्दा सिन्धुपाल्चोकमा सामुदायिक रेडियोका रूपमा रेडियो सिन्धु मात्र थियो ।
बामे सर्दै गरेको मोफसलको रेडियो,
म रेडियोमा पुग्दै गर्दा आफैमा समस्याग्रस्त थियो । जनशक्तिको अभाव, आर्थिक स्रोत व्यवस्थापनमा चुनौती भएकै कारण रेडियो सञ्चालक समितिले सोचे अनुसार गोरेटो कोर्न सकेको थिएन ।
आवश्यकता थियो केही गरौँ भन्ने जोश भएका युवा जनशक्तिको ।
२०६८ साल जेठ १५ गतेबाट सिन्धुपाल्चोकको पहिलो सामुदायिक रेडियो, रेडियो सिन्धुले नियमित समाचार सुरु गर्यो ।
हामी त्यसमा आबद्ध भएर काम गर्न थालिउँ ।
समुदायका समस्या र मुद्दालाई समाचार र कार्यक्रममा प्रस्तुत गर्न थाल्यौँ ।
रेडियोले समुदायको विश्वास जित्दै गयो ।
स्वयंसेवी रूपमा काम गर्न थालेको मलगायत हाम्रा साथीहरूले ६ महिनापछि नियमित पारिश्रमिक पाउन थाल्यौँ ।
अहिले सामाजिक सुरक्षा कोषसम्म पुगिसकेका छौँ ।
सूचना तथा विज्ञापन दिनेहरू रेडियोको स्टेशन खोज्दै आउँथे । सहकार्य गर्ने सङ्घ, संस्था रेडियोसँगै जोडिँदै गए ।
माथिबाट पहिरो जान र तलबाट जमिन भासिन थालेपछि सिन्धुपाल्चोक जुगल २ नाम्फा र लिदीको १ सय ४९ घर पहिरोसँगै बग्न सक्छ भन्ने अनुमान उनीहरूले पहिले नै गरेका थिए ।
रेडियोले लोकप्रियताको उचाइ लिँदै गर्दा म पनि त्यो भाग्यमानी रेडियोकर्मी आफूलाई ठान्छु । कार्यक्रम रेकर्डका लागि पुग्दा स्रोताहरूले पठाएका चिठ्ठीपत्र पढ्ने अवसर पाएको छु ।
पत्रकारिता पढ्दै गर्दा रेडियोको विशेषता पढिन्थ्यो, ‘पढ्न नसक्ने निरक्षरलाई पनि रेडियो प्रभावकारी माध्यम हो ।’
जतिसुकै सूचना प्रविधिको विकास होस् तर रेडियोको अस्तित्व जहिल्यै रहन्छ र रहनुपर्छ ।
रेडियो प्रभावकारी र लोकप्रिय सञ्चारमाध्यमको रूपमा नेपाली गाउँ, समाजमा रुचाइएको छ । अहिले पनि गाउँघर, दुरदराजमा सूचना पुर्याउने त रेडियो नै हो ।
२०७२ को भूकम्पमा आफ्नो हुँदा, रहँदाको स्टुडियोबाट काम गर्न नसकेपछि तत्कालीन जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकको ग्यारेजबाट रेडियो भूकम्पको समयमा प्रभावकारी सूचना र भरपर्दो खबरको सारथी बन्यो ।
२०७१ को जुरे पहिरो, २०७३ को भोटेकोशी बाढी, २०७८ को मेलम्ची बाढी लगायत बस्तीका नामोनिसाना मेटाउने लिदी, नाग पुजे पहिरो जस्ता विपद्मा रेडियोले आफ्नो भूमिका झन् बढायो ।
समस्यामा परेकाले आफ्नो कुरा राख्ने थलो रेडियो बनाए ।
२०७७ असार २६ गते परेको ठूलो वर्षाले पहिरो जाने र जमिन चिरा परेर फाट्न थालेपछि बस्न नसक्ने जानकारी स्थानीयले प्रशासनलाई, पालिकालाई गराए ।
माथिबाट पहिरो जान र तलबाट जमिन भासिन थालेपछि सिन्धुपाल्चोक जुगल २ नाम्फा र लिदीको १ सय ४९ घर पहिरोसँगै बग्न सक्छ भन्ने अनुमान उनीहरूले पहिले नै गरेका थिए ।
गाउँमै बसेर जोखिमको बारेमा गराइएको जानकारीमा प्रशासनले चासो नदेखाएपछि उनीहरू ८ घण्टा पैदल हिँडेर असार २७ गते रेडियोको स्टेशनमा आए ।
सामुदायिक रेडियो समुदायका मानिसहरूको दुःखसुखका साथी हुन् भन्दा फरक पर्दैन । किनभने रेडियोहरूले नै बिहान झिसमिसेदेखि बेलुका निन्द्रा नपुरेञ्जेलसम्मको समयमा साथ दिइरहेका छन् ।
रेडियो सिन्धुको स्टुडियोमा बसेर लिदीबासीले तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई आफ्नो बस्तीको समस्या समाधानमा तत्काल पहल गरिदिन अनुरोध गरे ।
नागरिकको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारीले प्रहरी, वडा र पालिकासँग समन्वय गरेर तत्काललाई त्रिपाल र कम्बल दिएर झारो टार्ने काम भयो ।
अन्ततः हामीले बोल्दै गर्दा स्थानीयको समस्याको यथोचित सुनुवाइ भएन र ३७ घर पुरियो ।
बाँच्नकै लागि याचना माग्दै हिजोका दिनमा भेटिएका मान्छेको जीवन सकिएको भन्ने समाचार लेख्दा हात थरथर काम्यो तर लेखेँ । गला भारी भयो तर रेडियोमा समाचार पढ्नुपर्यो ।
स्थानीयबासीले आफ्नो गाउँमा पहिरोको जोखिम छ र कुनै पनि दिन जनधनको क्षति हुन्छ भनेर बारम्बार जानकारी गराउँदा पनि सरोकारवाला निकायले नसुन्दा बस्तीले मानवीय क्षति बेहोर्नु पर्यो ।
अधिकांश नागरिकले सूचना, सञ्चार, समाचार र मनोरञ्जनको मुख्य माध्यमका रूपमा रेडियोलाई उपयोग गर्ने गरेका छन् ।
आलीमा होस्, डालीमा, निदालमा अहिले पनि रेडियो बजिरहेको हुन्छ ।
अहिले विद्यालयको भर्नादेखि सहकारीको साधारणसभा अनि ब्रतबन्धको सूचना अनि लोकहितमा जारी सन्देशहरू रेडियोले प्रसारण गरिरहेका छन् ।
सामुदायिक रेडियो समुदायका मानिसहरूको दुःखसुखका साथी हुन् भन्दा फरक पर्दैन । किनभने रेडियोहरूले नै बिहान झिसमिसेदेखि बेलुका निन्द्रा नपुरेञ्जेलसम्मको समयमा साथ दिइरहेका छन् ।
जिल्लाका खवर थाहा पाउन सामुदायिक रेडियो र राष्ट्रिय अन्तरराष्ट्रिय खवरका लागि सीआईएन समुदायको सारथी बनिसकेको छ ।
कार्यालय, यात्रा वा घर होस्, रेडियोबाट सहजै सूचना प्राप्त गर्न सकिन्छ ।
यही नै यसको मजबुत पक्ष हो ।
हामी जिल्लाको सामुदायिक रेडियोमा बसेर सीआईएनमा रिपोर्टिङ गरिहनुको सबल पक्ष भनेकै स्थानीयता र चासोका कुरा राष्ट्रियस्तरमा उठाउन सक्नु हो ।
समाजमा देखिएका गरिबी, अशिक्षा तथा विभिन्न कुरीतिको अन्त्यका लागि देशभरकै साुमदायिक रेडियोको पहुँचमा रेहको सीआईएन हाम्रो लागि पत्रकारिताको माध्यम बनेको छ ।
१० वर्षअघि मैले रेडियोमा बोल्दै गर्दा एक मात्र रेडियो थियो ।
क्रमश दुईतिन हुदै अहिले ८ वटा रेडियो स्थापना भएका छन् । स्रोतालाई छानी-छानी रेडियो सुन्ने मौका मिल्यो तर गुणस्तरमा ध्यान नपुर्याउँदा अहिले रेडियोप्रति मानिसहरूको रुचि घट्न थालेको हो कि भन्ने भान हुन्छ ।
समुदायका लागि काम गरेका रेडियो आर्थिक रूपमा कमजोर बन्दै छन् ।
अदृश्य लगानीमा पार्टीमा राम्रो पहुँच राख्ने व्यक्तिले सामुदायिक रेडियो भनेर स्थानिय तहबाट पहुँचको भरमा स्रोत सङ्कलन गर्नेक्रम बढेको छ ।
बिजुली नपुगेको ठाउँमा ब्याट्री हालेर रेडियो सुन्नेहरू हिजोआज टिभी, युट्युव, टिकटकमा आफ्ना रुचिका भिडियो हेर्लान् कि मोबाइलमा रेडियो नै सुन्न रुचाउँछन् होला ? मलाई बेलाबेलामा मनमा जिज्ञासा आउँछ ।
फेरि पनि रेडियोप्रति समाजको त्यो भरोसा, विश्वास, सम्मान देख्छु अनि रेडियो पत्रकारितामा भविष्य देख्छु ।
गाउँसमाज, दूरदराजमा एकै पटक सञ्चार गर्ने काम रेडियोले गर्छ ।
रेडियो बाँच्यो, टिक्यो समाजमा बिक्यो भने रेडियो पत्रकारिता पनि बाँच्छ । अनि हामी खबर सुन्दै-सुनाउँदै बाँच्न सक्छौँ ।
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९, १४:५४