रेडियोमा बोल्ने रहरैरहरले यस क्षेत्रमा प्रवेश गरेँ ।
रेडियो पत्रकारिताका लागि आवश्यक आधारभूत ज्ञानबिनै यस क्षेत्रमा प्रवेश गरेको मेरा लागि सिकाइको उत्कृष्ट पाठशाला बनेको छ सीआईएन ।
रेडियो रिपोर्टिङका धेरै कुराहरू जिल्लाबाट सीआईएनसँग जोडिएर काम गर्नेक्रममा सिक्ने मौका पाएको छु ।
यहाँबाट रेडियो रिपोर्ट तयार गर्दा समाजसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूलाई प्राथमिकता राख्दै आएको छु ।
विषयवस्तुको छनोट र त्यसको प्रस्तुतिकरणका लागि डेस्कबाट महत्वपूर्ण सहयोग मिल्दै आएको छ ।
आशा छ, आउने दिनमा पनि त्यो सहयोग अवश्य पाउनेछु ।
नियमित रूपमा सीआईएनसँग जोडिएर रिपोर्टिङ गर्न थालेको झन्डै चार वर्ष भयो ।
यो अवधिमा रिपोर्टिङमा उठान गरेका विषयवस्तु समुदायसँग नै जोडिएका विषयवस्तु छन् ।
महिलाका कुरा, कृषि र किसानका कुरा, बालबालिका कुरा आदि उठाउँदा र ती विषयका रिपोर्ट प्रसारण हुँदा सम्बन्धित क्षेत्रका नागरिकमा बेग्लै प्रकारको खुसी भेटिन्छ र देखिन्छ ।
सीआईएनसँग जोडिएर जिल्लाबाट काम गर्दै जाँदा मैले कार्यरत रेडियोमा प्रसारण हुने समाचारमूलक कार्यक्रम तथा रेडियो रिपोर्टहरू तयार पार्न पनि सहज भएको छ ।
समाजसँग प्रत्यक्ष जोडिएर सहकार्य गर्न महत्वपूर्ण सिकाइ र सहयोग मिलेको छ ।
सीआईएनले समुदायको कुरा बोल्छ । भुइ मान्छेका कुरा भन्छ ।
त्यस्ता विषयवस्तुलाई प्राथमिकता दिन्छ । यस कारण पनि सहरभन्दा गाउँघरका नागरिक बढी सीआईएनको नियमित स्रोता बनेका छन् ।
नेतृत्वदायी भूमिकामा रहेकाहरूलाई घचघच्याउँछ भन्ने खालको धारणा स्रोताबाट सुन्न पाउँदा एक सामुदायिक रेडियोकर्मी भएर गर्व लाग्छ ।
समाचार तथा रिपोर्टिङका विषयवस्तुको उठान तथा प्रस्तुतिकरणका लागि र समग्रमा सामुदायिक रेडियो पत्रकारिताको सिकाइका लागि उत्कृष्ट पाठशाला हो मेरा लागि सीआईएन ।
मेरा लागि सीआईएन रेडियो पत्रकारिताको पहिलो अनि सबैभन्दा उत्कृष्ट पाठशाला हो ।
सामुदायिक सूचना नेटवर्क (सीआईएन ) हालै १४ औँ वर्षमा प्रवेश गरेकोमा सामुदायिक रेडियो र रेडियोकर्मी सबैलाई शुभकामना ।
प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९, ०८:२७