काठमाडौँ । देशकै राजधानी काठमाडौँ । जहाँ सातै प्रदेश र ७७ वटै जिल्लाका मानिसहरू बस्छन् । काठमाडौंँ भाषा, संस्कृति र विभिन्न जातजातिको फूलबारी हो ।
आफू जन्मिएको भूगोल छोडेर सहरको सकसमा बाँचिरहेकाहरू थकान र पीडामा गाउँलाई सम्झन्छन् ।
मनभरि गाउँ सम्झिएर सहरको ब्यस्ततामा अल्झिरहेकाहरूलाई खेतबारीमा डुल्ने र गाउँकै खान्कीमा रमाउने वातावरण धेरैको खोजीमा पर्छ ।
सुमन दाहालको ‘मौलिक भान्सा घर’ यस्तै भोक र रहर मेटाउन तल्लिन छ ।
चक्रपथ ( सुकेधारा) बाट ३ किलोमिटर उत्तर लागेपछि कपन गुम्बाको फेदीमा पुगिन्छ । जहाँ ७ रोपनी भीरालो जग्गा छ ।
सुमनको सपना र मिहेनतले सिँचिएर मलिलो बनेको । जहाँ दूधालु गाई पालिएको छ, काँक्रो, फर्सी, लौका, करेलादेखि कर्कलोसम्म लहराइरहेका छन् ।
त्यहीँ पालिएको छ कुखुरादेखि टर्कीसम्म । आँप, नासपाती, लिची र अङ्गुर लटरम्म फलेको देख्न पाइन्छ ।
मौलिक भान्छाघरको स्वाद चाख्न पुग्नेहरूले आफैँ फलफूल टिपेर खान पाउँछन् अनि अर्गानिक उत्पादनको स्वास्द जिब्रोमा बोकेर फर्कने गरेका छन् ।
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ठोकर्पाका सुमन दाहालले ४ वर्षअघि देखेको मौलिक र अर्गानिक उत्पादनको सपनाले सार्थकता पाउँदैछ ।
सातबार सात विशेष परिकार
मैलिक भान्छाको नारा छ, ‘हप्तामा सातै दिन, सात बार सात प्रदेश, सात विशेष परिकार’ मौलिक भान्छाघरमा पुग्नेहरूले सातैबार दिन अनुसारको स्वाद चाख्न पाउँछन् ।
दिन, प्रदेश विशेष अनुसार छुट्याइएको छ ।
आइतबार प्रदेश नम्बर १ विशेष परिकार झ्याउ र किनेमाको स्वाद चाख्न पाइन्छ भने सोमबार भक्का र गुहँको रोटी खान पाइन्छ, जुन मधेस प्रदेशको मौलिकता हो ।
यस्तै मङ्गलबार मौलिक भान्छाघरमा बाग्मती प्रदेश विशेष परिकार योमरी र खाजा सेट पाक्छ भने बुधबार गण्डकी प्रदेश विशेष पोखरेली खिर र सेल रोटीको स्वाद चाख्न पाइन्छ ।
बिहीबार लुम्बिनी प्रदेश विशेष परिकार खिचडी र ढिक्री मौलिक भान्छा घरमा पाक्दा शुक्रबार कणर्ालीको विशेष परिकार मार्सी चामलको खाना सेट पाइन्छ ।
शनिबार सुदूरपश्चिम विशेष परिकार पाक्छ ‘बाबर’ । जहाँ पुग्नेहरूले सातै प्रदेश विशेषका परिकार खान पाउँछन् । प्रदेश अनुसारको सांस्कृतिक प्रस्तुति
प्रदेश अनुसारको विशेष खाना मात्रै होइन, मौलिक भान्छा घरमा प्रदेश अनुसारको सांस्कृतिक प्रस्तुति पनि हेर्न र महसुस गर्न पाइन्छ ।
नारा नै तय गरिएको छ, ‘सात संस्कृति, सात पहिरन अनि सात सांस्कृतिक साँझ ।’
मौलिक भान्छा घरले अर्को पनि नारा बनाएको छ, ‘सात पंक्षी, सात परिकार, अनि सात स्वाद ।’ मौलिक भान्छामा लोकल कुखुरादेखि हाँस र टर्कीसम्मका पंक्षीका स्वादसम्म चाख्न पाइन्छ ।
मौलिक भान्सा, सुमनको व्यवसाय मात्र होइन, कृषिमा सम्भावना खोज्ने युवाका लागि उदाहरण पनि हो ।
खोरमा भएका बाख्रा र कुखुरा अनि गोठमा भएका गाईले व्यवसायमा सुन्दरता मात्रै थपेका छैनन्, सुमनको खल्तिमा दाम पनि थप्दै आएका छन् ।
सहरले जसरी प्रकृतिको सौन्दर्यता मास्दै गएको छ, त्यसरी नै बढीरहेको छ, मानिसमा प्रकृतिसँगको प्रेम । खोलानाला, वनजङ्गल र हराभरा खेतबारीले जुनसुकै उमेरका मानिसलाई पनि मोहनी लगाउँछ ।
सुमन भन्नुहुन्छ, ‘मौलिक भान्छाघरमा पुग्ने जो कोही रमाएर फर्कने गरेका छन्, अनि फेरिफेरि पनि पुग्ने गरेका छन् ।’ खान खान पुगेकाहरू मात्रै होइन, आफ्नै ३ वर्षको सानो छोरासमेत मौलिक भान्छा घरमा जान र बस्न रहर गर्छ ।
यसले पनि बृद्धबृद्धादेखि बालबालिका सम्मलाई मौलिकता र प्रकृतिले तानेको अनुभव उहाँलाई हुन्छ । एक स्थानीय तह एक उत्पादनको अवधारणा
मौलिक भान्सासँगै यहाँ ७ सय ५३ वटै स्थानीय तहका रैथाले बाली खरिद र विक्री गर्ने उद्धेश्यसहितको मौलिक बजार पनि छ ।
सुमनका अनुसार यो व्यवसाय मात्रै होइन, मौलिकता जोगाउने अभियान पनि हो ।
मौलिक बजारमा ७ सय ५३ स्थानीय तहको बिशेष उत्पादन , प्रर्दशन गर्ने गरी ७ सय ५३ वटै ब्लक पनि बनाइएको छ ।
जहाँ स्थानीय तहको नाम लेखिएको छ र उक्त स्थानीय तहको मौलिक उत्पादनलाई प्रदर्शनमा राखिएको छ । यहाँ पुग्नेहरूले उक्त उत्पादन खरिद पनि गर्न सक्छन् । तर सबै स्थानीय तहसँग कुराकानी हुन बाँकी नै छ ।
‘कतिपय स्थानीय तहले त आफ्नो पालिकाको रैथाने र विशेष उत्पादन के हो भन्ने पहिचानै गर्न सकेका छैनन् ।’ सुमन भन्नुहुन्छ, ‘गरिसकेका मध्य धेरै यो अभियानमा जोडिन तयार भएका छन् ।’
गाउँमा भएको उत्पादनलाई सहरसम्म ल्याइदिने र बजार पनि खोजिदिने उद्धेश्य मौलिक बजारले लिएको छ ।
‘सहरमा गाउँको उत्पादन खाने र खोज्नेहरू बढी छन् । गाउँमा भएको उत्पादन त्यसै खेर जाने गरेको छ सहर र गाउँ दुबैको आवश्यकता हेरेर मौलिक बजारको अबधारणा आएको हो ।’ सुमनले थप्नुभयो ।
झट्ट हेर्दा सामान्य देखिने मौलिक भान्छामा सात सय ५३ स्थानीय तहकै स्वाद पस्किने महत्वकाङ्क्षी सपनाले उहाँलाई निदाउन दिएको छैन ।
बजारले मौलिकता खोज्छ र गाउँका उत्पादनले बजार । उत्पादनलाई बजार दिएर गाउँमा आम्दानीको स्रोत देखाउने योजनामा सरकार सारथी बनोस् भन्ने उहाँको चाहाना छ ।
चार वर्षअघि केही लाखबाट सुरु भएको अभियानमा अहिलेसम्म १० करोडभन्दा बढी लगानी भइसकेको छ ।
व्यावसायिकता हेर्ने हो भने लगानीले दिने प्रतिफल नगन्य छ । तर खुसीको हिसाब पैसामा गन्न मिल्दैन । माटोमा मिहेनत गरेरै देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने, सुमनको सपनामा छिमेकीहरु बाधा बन्न भने खोज्छन् ।
उहाँ भन्नुहुन्छ, ‘कहिलेकाँही आफ्नै साथीभाइ र छरछिमेकले पनि बजारमा मौलिकता खोज्दै यसरी यति ठूलो लगानी किन गरेको ? भन्दै बरू अन्य व्यवसायमा लाग्न अनुरोध गर्छन् ।’ तर सुमनको यो सपना हो र अठोट पनि ।
आयुर्वेदिक हेल्थ असिस्टेन्ट पढ्नुभएका सुमनले सुरूमा सौन्दर्यसँग सम्बन्धित आर्युवेदिक सामग्रीको उत्पादन तथा विक्रीवितरण गर्नुभएको थियो ।
त्यसपछि कृषिसँग सम्बन्धित उत्पादनहरूमा जोडिदै जानुभएको हो ।
सुमनलाई पढाइसँग सम्बन्धित थुप्रै जागिरका अवसर नआएका होइनन्, विदेश जाने र टन्नै पैसा कमाउने रहर पनि कहिलेकाँही नआएको होइन ।
तर त्योभन्दा ठूलो रहर बन्यो ।
स्वदेशी उत्पादनलाइ प्रोत्साहन गर्ने, रैथाने उत्पादनलाई माया गर्ने र नेपालको मौलिकता नेपालभित्रै बिस्तार गर्ने ।
सुमनको यो अभियानमा उहाँकी श्रीमती राधिका ढकालले सघाइरहनुभएको छ । नेपालमा करिब ६२ प्रतिशत जनसङ्ख्या कृषि पेशामा निर्भर छ ।
त्यसमध्य झन्डै ९० प्रतिशत किसान निर्वाहमुखी अर्थात खान ठिक्क हुनेगरी खेती गर्छन् । उनीहरूलाई व्यावसायिक बन्न प्रेरित गर्नु र उत्पादित कृषि उपजको बजार व्यवस्थापन मिलाइदिनु सुमनको मुख्य उद्धेश्य हो ।
महत्वाकाङ्क्षी योजनाले उहाँलाई उद्यमी मात्रै होइन, मौलिक खेतिपातीको अभियन्ता नै बनाएको छ ।
अडियो रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९, १५:२८