काठमाडौँ । मनसुन सुरु भइसकेकाले अब दिउँसोको तुलनामा राति धेरै पानी पर्ने भएको छ ।
राति चिसो हुने भएकाले बादल बन्न सजिलो हुने हुँदा पानी पर्नेक्रम दिउँसोको तुलनामा राति धेरै हुने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले सीआइएनसँग बताउनुभयो ।
उहाँका अनुसार गत आइतवार पूर्वी भूभागबाट नेपाल प्रवेश गरेको मनसुन गण्डकी प्रदेशसम्म फैलिसकेको छ ।
यो पश्चिममा सर्ने क्रममा रहेको पनि उहाँले जानकारी दिनुभयो ।
मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने क्रम बढ्ने भएकाले हिँडडुल गर्दा सावधानी अपनाउन पनि मौसमविद्ले अनुरोध गरेका छन् ।
उहाँका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभावले आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
दिउँसो हल्कादेखि मध्यम वर्षा भए पनि राति भने एकदुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविद् पौडेलको भनाइ छ ।
आज प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति प्रदेश १ र मधेश प्रदेशका धेरै स्थानहरू, बागमती, गण्डकी र कर्णालीलगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९