काठमाडौँ । देशभर दुई महिनामा भएको ६ सय ४५ विपद्जन्य घटनाका कारण ६० जनाको मृत्यु भएको छ ।
गत वर्ष यही समयमा ५२ जनाको मृत्यु भएको थियो ।राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष सबैभन्दा बढी चट्याङका कारण २६ जनाको मृत्यु भएको छ ।
गत वैशाख १ देखि जेठ २८ गतेसम्म आगलागीबाट मृत्यु हुनेको सङ्ख्या १४, जनावर आतङ्कबाट ८, हावाहुरीबाट ७, पहिरोबाट ३ र सर्पदंशबाट २ जनाको मृत्यु भएको छ ।
घटनामा १ सय ४८ जना घाइते भएका छन् भने एक जना वेपत्ता रहेको प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले सीआईएनसँग बताउनुभयो ।
ती सबै घटनामा ८ सय ३० परिवार प्रभावित भएका छन् भने करिव ४९ करोड रूपैयाँको क्षति भएको छ ।
२ सय २८ वटा भौतिक संरचनामा क्षति पुगेको छ ।
प्राधिकरणका अनुसार विपद्का कारण मृत्यु हुनेमा हरेक वर्ष चट्याङ् अग्रस्थानमा रहने गरेको छ ।
चट्याङ्का कारण हुने मृत्युका घटनालाई न्युनीकरण गर्न सचेत रहनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
सीआईएनसँग कुराकानी गर्दै चट्याङ् विज्ञ श्रीराम शर्माले वर्षाको मौसममा विशेषगरि साँझको समयमा बढि चट्याङ पर्ने भएकाले साँझमा घर बाहिरको काम नगर्न सुझाव दिनुभयो ।
गत वर्षको बैशाख र जेठ महिनामा चट्याङका १ सय ४८ घटनामा ३० जनाको मृत्यु भएको थियो भने यस पटक ५९ घटनामा २६ जनाकोे मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९, १३:२९