काठमाडौँ । सरकारले यस वर्षको मनसुन कार्ययोजना स्वीकृत गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि मनसुन प्रतिकार्य कमाण्ड टोली गठन गरेको छ ।
हिजो सिंहदरवारमा गृहमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १३ औँ बैठकले टोली गठन गरेको हो ।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव प्रदीप कोईरालाको संयोजकत्वमा ‘मनसुन प्रतिकार्य कमाण्ड टोली’ गठन गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकलाई सम्वोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले विपद्को जोखिम न्युनिकरण र उद्धारमा गम्भीर भएर लाग्न सरोकारवाला सबैलाई निर्देशन दिनुभयो ।
‘मनसुन प्रतिकार्य कमाण्ड टोली’ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, जल तथा मौसम विज्ञान विभाग, सडक विभाग, जलस्रोत तथा सिंचाई विभागका प्रतिनिधिहरु सदस्य रहेको गृहमन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९, ०७:१५